प्रधानमन्त्रीको अध्यक्षतामा उच्च शिक्षा आयोग

160

समाचारपत्र दैनिक/ईश्वरराज ढकाल
फागुन २, काठमाडौ । उच्चशिक्षाको नीति निर्धारण, समन्वय, नियमन, निर्देशन र मापदण्ड निर्धारण गर्न प्रधानमन्त्रीको अध्यक्षतामा उच्चशिक्षा आयोग गठन गर्ने प्रस्ताव गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको ‘राष्ट्रिय शिक्षा ऐन २०७५’ को मस्यौदामा १५ सदस्यीय आयोग गठन गर्ने प्रस्ताव गरेको हो ।
आयोगको सहअध्यक्षमा शिक्षामन्त्री, उपाध्यक्षमा ख्यातिप्राप्त शिक्षाविद्मध्येबाट सिफारिस समितिको सिफारिसमा सरकारले मनोनित गरेको व्यक्ति रहने व्यवस्था गर्न लागिएको छ ।

सदस्यहरुमा राष्ट्रिय योग्यता तथा गुणस्तर प्रत्यायन परिषद्का अध्यक्ष, बिभिन्न विश्वविद्यालयका उपकुलपति वा विश्वविद्यालयका कार्यकारी प्रमुखहरु मध्येबाट सहअध्यक्षको सिफारिसमा अध्यक्षबाट मनोनित ३ जना, राष्ट्रिय योजना आयोगका ९शिक्षा हेर्ने० सदस्य, शिक्षा र अर्थ मन्त्रालयका सचिव, उच्च शिक्षामा विशेष योगदान गरेका विज्ञ वा प्राध्यापक मध्येबाट सरकारबाट मनोनित कम्तिमा एक जना महिला सहित ३ जना, उद्योग, वाणिज्य, कृषी, निर्माण लगायतका क्षेत्रमा विशिष्ट योगदान गरेका व्यक्तिहरु मध्यबाट कम्तिमा एक जना महिला सहित दुई जना सदस्य रहने प्रस्ताव गरिएको छ । शिक्षाविद्हरु मध्येबाट सरकारले प्रमुख प्रशासकीय अधिकृत नियुक्ति गर्नेछ । समितिको सदस्य सचिवमा विशिष्ट श्रेणीका अधिकृत सरह हुने व्यवस्था गरेको छ ।