बेला न कुबेला भेनेजुयलाः अल्झिए ओली र प्रचण्ड

205

समाचारपत्र दैनिक/मधुसूदन रायमाझी,
माघ २५, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकता भएको नौ महिना बितिसक्दा समेत सांगठनिक एकता प्रक्रिया टुंगो लाग्न सकेको छैन् । शीर्ष नेतृत्वबीच देखिएको विवादकै कारण एकता प्रक्रियाले गति लिन सकेको छैन । प्रदेश कमिटीबाहेक अन्य सांगठनिक एकता प्रक्रिया अगाडि बढाउन बनेको कार्यदल असफल बन्दै आएको छ । पार्टी एकताको टुंगो लगाउन जुट्नुपर्ने अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने भेनेजुयलाको विषयलाई लिएर आ–आफ्नो अडान अगाडि सारेका छन् । अध्यक्षद्वयबीच भेनेजुयलाको विषयलाई लिएर फरक–फरक अभिव्यक्ति आएपछि नेकपा नयाँ विवाद उत्कर्षमा पुगेको छ ।

अध्यक्ष प्रचण्ड, परराष्ट्र मन्त्रालय र नेकपाको सचिवालय बैठकले भेनेजुयलालाई समर्थन गर्ने गरी विज्ञप्ति जारी गरेको थियो । परराष्ट्र मन्त्रालय र नेकपाको सचिवालयको बैठकले प्रचण्डको विज्ञप्तिलाई नै सदर गर्ने गरी थप विज्ञप्ति जारी गरेपछि विवाद हटेको थियो । तर, पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डले हतारमा विज्ञप्ति निकालेको अभिव्यक्ति दिएपछि नेकपाभित्र नयाँ विवाद सुरु भएको छ । पार्टी अध्यक्षको हैसियतमा प्रचण्डले जारी गरेको विज्ञप्तिलाई सचिवालय बैठकले ठीक रहेको निष्कर्ष निकालेको थियो । तर, अमेरिकाले प्रचण्ड र परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिप्रति आपत्ति जनाएपछि प्रधानमन्त्री ओलीले आफ्नै पार्टी अध्यक्ष प्रचण्ड र परराष्ट्र मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिको विपक्षमा उभिनुभएको छ ।