भेनेजुयलाका विषयमा आफ्नो वक्तव्यमा अडिग छु :अध्यक्ष दाहाल

75

माघ २४,
चितवन, पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेनेजुयलाका विषयमा आफूले जारी गरेको विज्ञप्तिमा अडिग रहेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले त्यो वक्तव्य एउटा राजनीतिक वक्तव्य भएको स्पष्ट पार्नुभयो । एउटा स्वतन्त्र, सार्वभौम सत्ता सम्पन्न राष्ट्रको राजनीतिक घटनाक्रममा बाहिर कतैबाट हस्तक्षेप नहोस् भन्ने उद्देश्यले विज्ञप्ति जारी गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले थप्नुभयो, “परराष्ट्र मन्त्रालयबाट जो स्टेटमेन्ट जारी भयो त्यो पनि मूलतः त्यही स्प्रिटमा नै आयो ।”

मङ्गलबार प्रधानमन्त्रीसमेतको सचिवालयको बैठक बसेर पनि हस्तक्षेपको विरोधमा नै विज्ञप्ति जारी भएकाले अब अरू कुराको अर्थ केही नलाग्ने उहाँले बताउनुभयो । पार्टी र परराष्ट्र मन्त्रालयबाट पनि स्पष्ट पारिसकेको उहाँले उल्लेख गर्नुभयो । आफूले विज्ञप्ति जारी गरिसकेपछि केही मिडियामा फसाइयो भनेर आएपछि पुनः स्पष्टसमेत पारिएको उहाँले बताउनुभयो । -रासस