Tuesday, September 29, 2026
Home समाचार डा. केसीको समर्थनमा चिकित्सकहरुको सामूहिक अनसन सुरु

डा. केसीको समर्थनमा चिकित्सकहरुको सामूहिक अनसन सुरु

80

काठमाडौं, माघ १४

चिकित्सा शिक्षा सुधारको माग राखेर १६ औं पटक आमरण अनसनरत डाक्टर गोविन्द केसीको माग पूरा गर्न दबाब दिन नेपाल चिकित्सक संघको अगुवाइमा चिकित्सकहरू सामूहिक अनसनमा बसेका छन्।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा सोमबार चिकित्सकहरूले सामूहिक रिले अनसन सुरू गरेको नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले जानकारी दिए।

चिकित्सक संघले सरकारले केसीले राखेका मागहरू पूरा नगरेसम्म हरेक दिन बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म रिले अनसन गर्ने घोषणा गरेका थिए।

चिकित्सक संघले केसीका माग पूरा गर्न तीन दिने अल्टिमेटम दिएर वार्ता समिति बनाउन आग्रह गरे पनि सरकारले वार्ता समिति बनाएको छैन। केसीले राखेका माग समेटेर चिकित्सा शिक्षा विधेयक संशोधन गर्न चिकित्सकहरूले माग गरेका छन्।

जिल्लाहरूमा पनि चिकित्सकहरूले जिल्ला अस्पताल बाहिर सामूहिक रिले अनसन सुरू गर्दै छन्।

‘डाक्टर केसीले राखेका मागहरू सरकारले पूरा गर्नुपर्छ। केसीसँग वार्ता गर्न समिति गठन हुनुपर्छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘केसीका माग पूरा नहुञ्जल आन्दोलन गरिरहन्छौं। हाम्रो आन्दोलनबाट बिरामीमा पर्न गएको असुविधाप्रति क्षमाप्राथी छौं।’