माघ १३, काठमाडौँ
नेकपा अध्यक्ष केपी शर्मा ओली सरकारको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन गरेको छ।
आइतबार बिहान त्रिचन्द्र कलेज अगाडि र पशुपति क्याम्पस अगाडि प्रधानमन्त्रीको पुत्ला दहन गरेको नेविसंघले जनाएको छ।
नेविसंघले सरकार अधिनायकवादतर्फ उन्मुख रहेको, निर्मला पन्तको हत्यारा पहिचान नगरेको, डाक्टर गोविन्द केसीले राखेका माग पूरा नगरी चिकित्सा शिक्षा विधेयक ल्याएकोमा विरोध गरेको हो।
नेविसंघ नेता दीपक भट्टराईले सरकारले दुई तिहाइको दम्भले जनविरोधी काम गर्दै गएको आरोप लगाए।
‘छ महिना हुँदा पनि निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधीलाई सरकारले पहिचान गरी कारबाही गर्न सकेन,’ उनले भने, ‘मूल्यवृद्धि नियन्त्रण गर्न, जनताको सुरक्षा गर्नबाट सरकार चुक्यो।’
यस्तै, नेविसंघ ग्रामीण आदर्श र एनआर कलेजले पनि सरकारविरूद्ध नाराबाजी गरेको छ।
नेविसंघका पवन थापा, सन्तोष गुरुङ, उत्तम पाठक, किरण भट्टराईलगायत १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएर बालाजु वृत्तमा राखेको छ।
नेविसंघ केन्द्रीय सदस्य सुशील भट्टले शान्तिपूर्ण प्रदर्शनमा रहेका आफ्ना संगठनका विद्यार्थीलाई प्रहरीले दु;ख दिएको आरोप लगाए। -सेतोपाटी













