स्ववियु निर्वाचनका बारेमा विद्यार्थी नेताहरुको आरोप प्रत्यारोप

70

माघ १५,
काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले स्ववियु निर्वाचनमा आफ्नो संगठनको रगतको साइनो भएकोले स्ववियु निर्वाचनबाट नभाग्ने स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आफूहरु निर्वाचनबाट कुनैपनि हालतमा नभाग्ने जिकिर गरे । उनले भने,‘तर, सरकारले स्ववियु निर्वाचनको वातावरण बनाउनुपर्छ । त्यतातिर सरकारले पर्याप्त ध्यान दिओस् ।’
साक्षात्कारमा बोल्दै स्ववियु विद्यार्थीको साझा मञ्च भएकोले नेविसंघलाई निर्वाचन जित्ने वा हार्ने कुराले कुनै फरक नपार्ने पनि जिकिर गरे । आफ्नो संगठनले एक महिना अघि नै स्ववियु निर्वाचन फागुण १४ गते गर्नेबारे विश्वविद्यालयलाई पत्राचार गरेर सहमति जनाईसकेको पनि महरले जनाए । उनले भने,‘अहिलेपनि हामी यो निर्णयमा कायमै छौं ।’
अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले देशैभरिबाट पराजय भोग्ने भयले नेविसंघले चुनाव नचाहेको गम्भिर आरोप लगाएका छन् । उनले स्ववियुको निर्वाचन हुन नसक्दा स्ववियुको चरित्रमाथि नै आघात पुगेको बताए । उनले स्ववियुको निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्नुपर्ने पनि जोड दिए । उनले भने,‘निर्धारित मितिमै स्ववियुको निर्वाचन जरुरी छ भन्ने हामी ठान्दछौं । त्यहीअनुरुप विश्वविद्यालयले पनि यही फागुण १४ गते स्ववियुको निर्वाचन गर्नेगरि तयारी गरेको छ ।’
विश्वविद्यालयले सबै विद्यार्थी संगठनहरुलाई चाँडै बोलाएर स्ववियुको निर्वाचन बनाउन आग्रह गर्नेपनि उनले विश्वास दिलाए । उनले भने,‘स्ववियु निर्वाचन भयरहित, शान्त र लोकतान्त्रिक ढंगले सम्पन्न गर्ने हाम्रो दायित्व छ । हामी संगठनहरु पनि स्वस्थ, मर्यादित र लोकतान्त्रिक प्रतिष्पर्धाको निम्ति तयार छौं ।’
नेविसंघले निर्धारित मितिमा निर्वाचन नगर्नको लागि बहानीबाजी गरिरहको पनि उनको गम्भिर आरोप छ । देशभरिबाट पराजय व्यहोर्नुपर्ने हो कि भन्ने भयबाट नेविसंघले कहीँ न कहीँ काम गरेको आफूहरुले पाएको पनि उनले आरोप लगाए । उनले भने,‘त्यसैले नेविसंघले निर्धारित मितिमा निर्वाचन नगर्न बहानाबाजी गरेको देखिन्छ । तर, म पूर्णरुपमा भन्न चाहन्छु की नेविसंघजस्तो संगठन आफ्नो जिम्मेवारीबाट हट्छ भने यो शोभनीय हुँदैन् ।’