माघ ७, काठमाडौँ
नेपाली कांग्रेसले दोस्रोपटक पनि राष्ट्रियसभा बैठक अवरुद्ध पारेपछि बैठक आगमी १४ गते सोमबारसम्मलाई स्थगित भएको छ । नेपाली कांग्रेसका सांसदहरुले आफ्नो ठाउँमा उठेर बैठक अवरुद्ध पारेपछि सभाध्यक्ष गणेश तिमल्सिनाले आजको बैठकको कार्यसूची हटाइएको जानकारी दिँदै आगामी १४ गतेसम्मलाई स्थगित भएको बताए ।
तिमल्सिनाले सांसदलाई पटकपटक आसन ग्रहणको लागि आग्रह गरे । बैठक सुचारु गर्न कठिनाइ भएकोले आसन ग्रहण गर्न आग्रह गरेपनि कांग्रेस सांसदहरु आफ्नो ठाउँमा उभिएर अवरोध गरिरहे ।
सोमबार ११ बजे बैठक सुरु भएको थियो । ३० मिनेटसम्म चलेको पहिलो बैठकमा पनि प्रतिपक्षी सांसदले उभिएर बैठक अवरुद्ध पारेपछि सभा अध्यक्ष गणेश तिमल्सिनाले ३० मिनेटको लागि बैठक स्थगित गरिएको घोषणा गरेका थिए ।
नेपाली कांग्रेसले आफ्ना स्वर्गीय नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको स्मृतिमा स्थापित अस्पताल सञ्चालन गर्न सरकारले कुनै निर्णय नगरेकोमा आपत्ति जनाउँदै राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको थियो ।
मन्त्रिपरिषद्को हालैको बैठकले देशका विभिन्न नौ वटा अस्पताल संघअन्तर्गत सञ्चालन गर्ने निर्णय गरेको थियो । तर ती दुई नेताका नामका अस्पताल कुन निकायअन्तर्गत सञ्चालन गर्ने भन्ने निर्णय सरकारले नगरेको बताइन्छ ।
राष्ट्रियसभाको आजको बैठक शुरु हुने बित्तिकै नेपाली कांग्रेसका सांसदहरू आआफ्ना आसनबाट उठेर विरोध जनाएका थिए । विरोधका बीचमा कांग्रेसका सांसद सरिता प्रसाईंले आफ्ना नेताका स्मृतिमा स्थापित ती दुई अस्पताल सञ्चालन गर्न किन सरकारले कुनै निर्णय नगरेको रु भनी प्रश्न गरिन् ।
उनले नेपालको शान्ति प्रक्रिया, गणतन्त्र तथा नयाँ संविधान जारी गर्न गिरिजाप्रसाद कोइराला र सुशील कोइरालालेको योगदानलाई कहीँ कतैबाट भुल्न नहुनेमा जोड दिँदै आफ्नो मागका बारेमा सरकारले सदनसमक्ष धारणा सार्वजानिक गर्न माग गरिन् ।
यसपछि स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको स्मृतिमा स्थापित अस्पताल खारेज गर्ने निर्णय नभएको सदनलाई जानकारी दिए ।
उनले देशका विभिन्न नौ वटा अस्पताललाई संघअन्तर्गत सञ्चालन गर्ने निर्णय भएको सदनलाई जानकारी दिए । नेपाली कांग्रेसका सांसद सुरेन्द्र पाण्डेले विभिन्न नौ वटा अस्पताल संघअन्तर्गत सञ्चालन गर्ने निर्णय गर्ने सरकारले नेकाका नेताका नाममा स्थापित भएका अस्पताल सञ्चालन गर्न किन निर्णय नभएको हो रु भनी प्रश्न गरे ।
नेकपाका सांसद रामनारायण विडारीले प्रतिपक्ष उठ्ने र सत्ता पक्ष बस्ने यो कहाँको संसदीय परम्परा हो रु भन्ने प्रश्न गर्दै के कारणले बैठक अवरुद्ध भयो भनी प्रश्न गरेका थिए । सोही पार्टीका डा विमला पौडेलले आगामी दिनमा सदनले धेरै विधेयक पारित गर्नुपर्ने अवस्था रहेकाले सदन अवरुद्ध नगर्न आग्रह गरिन् । -कान्तिपुर













