Sunday, September 27, 2026
Home समाज पोखरामा भड्किलो तीजको असर

पोखरामा भड्किलो तीजको असर

101

भदौं ८,
पोखरा । नेपाली नारीको महान चाड हरितालिका तीज भड्किलो भइ यसले हुनेखाने र हुँदा खानेबीचको दूरी बढाउँदै लगेको पाइएको छ । तीज आउनुपूर्व नै यसका नाममा एक डेढ महिना अघिदेखि महङ्गा होटल तथा रेष्टुराँमा भेला भइ भोज खाने प्रबृत्ति बढिरहेको छ । बीस प्रतिशत सम्पन्न व्यक्तिको यस्ता प्रबृत्तिले ८० प्रतिशत मध्यम एवं विपन्न वर्गलाई मनोवैज्ञानिक असर पार्नुका साथै भड्किलो बन्दै गएको नारी जागरण अभियानकी अभियन्ता एवं पोखरा महानगरपालिका–५ की वडासदस्य अञ्जु केसीले बताउनुभयो । “एक डेढ महिनाअघिदेखि नै महङ्गा होटल तथा रेष्टुराँमा गएर तीजका नाममा भोज खाने प्रबृत्तिले यस पर्वप्रति नै नकारात्मक भावना बढाएको छ,” उहाँले भन्नुभयो । धेरै मूल्य पर्ने गरगहना तथा लत्ताकपडा लगाउने र समाजमा आडम्वरपन देखाउने प्रबृत्तिले तीजको संस्कृतिलाई विकृत बनाइरहेको उहाँको भनाइ थियो ।

तीज भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने चाड हो । महिला भाद्र शुक्ल द्वितीयाका दिन दर खाई तृतीयाका दिन ब्रत बस्ने र पञ्चमीका दिन ऋषिपञ्चमीको पूजा पर्ने गरिन्छ । धार्मिक विश्वासअनुसार भगवान् शिवको सुस्वास्थ्यको कामना गर्दै माता पार्वतीले हरितालिका तीजको ब्रत बसेको धार्मिक विश्वासका आधारमा त्यसै बेलादेखि तीज पर्व मनाउँदै आएको पाइन्छ । -RSS