५० वर्षभित्रै सामुद्रिक बासस्थान पूर्ण रुपमा ध्वस्त हुने अनुमान

100

साउन ११,
सिड्नी, (एजेन्सी) । सिपिङ, प्रदूषण र अधिक माछा मार्ने कार्यले विश्वको समुद्रको “प्राकृतिक” बासस्थान तीव्र रुपमा खुम्चिएर १३ प्रतिशतमा झरेको अध्ययनले देखाएको छ । अध्ययनका अनुसार, आधा शताब्दी अर्थात् ५० वर्षभित्रै यस्तो सामुद्रिक बासस्थान पूर्ण रुपमा ध्वस्त हुनेछ । रासायनिक मलखादको प्रयोगदेखि बढ्दो सामुद्रिक यातायात लगायतका मानव कृयाकलापको असरको अध्ययन गरिरहेका अन्तर्राष्ट्रिय अनुसन्धाताहरुले सामुद्रिक पारिस्थितिक प्रणाली दुर्बल भइसकेको जनाएका छन् । “मानवीय व्यवधानबाट सुरक्षित” रहेको भनिएका सामुद्रिक बासस्थानहरु मुख्यरुपमा उत्तरी र दक्षिणी ध्रुवीय इलाकाका साथै प्रशान्त महासागरका अनकन्टार क्षेत्रहरुमा पाइएका थिए ।

“सिपिङ प्रविधिमा सुधार गर्नुको अर्थ अति दुर्गम क्षेत्रका प्राकृतिक बासस्थान समेत भविष्यमा खतरा निम्तिने छ, र जलवायू परिवर्तनका कारण अहिले नै पहुँचयोग्य भइसकेका क्षेत्रहरु कुनै समय हिउँले ढाकिएका हुन्थे,” क्वीन्सल्यान्ड विश्वविद्यालयका मुख्य अनुसन्धाता केन्डाल जोन्सले बताउनुभयो । प्राकृतिक बासस्थानको केबल पाँच प्रतिशत मात्र अहिले संरक्षित क्षेत्रका रुपमा रहेको छ, र बाँकी स्थान अति जोखिममा परिसकेको छ, करेन्ट बायोलोजी जर्नलमा प्रकाशित अध्ययनले देखाएको छ ।
विश्वको सामुद्रिक क्षेत्रलाई नियमन गर्न, अधिक माछा मार्ने कार्यलाई बन्द गर्न, विनाशकारी सामुद्रिक–उत्खननलाई सीमित गर्न तथा सामुद्रिक सतह बृद्धिलाई न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय सहयोगलाई व्यापक बनाउनु आवश्यक छ ।