काठमाडौंमा सम्बन्ध विच्छेदका दैनिक १५ वटा मुद्दा

109

नागरिक दैनिक साउन ७,
काठमाडौं । काठमाडौं जिल्ला अदालतमा दैनिक १२ देखि १५ जोडी सम्बन्ध विच्छेदको मुद्दा लिएर पुग्ने गरेका छन्। काठमाडौं जिल्ला अदालतबाट मात्रै पाँच वर्षको अवधिमा १२ हजार २ सय ३९ जोडीले सम्बन्ध विच्छेद गरिसकेका छन्।
अदालतमा २० देखि ३० वर्ष उमेर समूहका युवा सम्बन्ध विच्छेदका लागि पुग्ने गरेका छन्। जिल्ला अदालतमा परेका सम्बन्ध विच्छेदका १५ हजार बढी मुद्दामध्ये १२ हजारजति टुंगिएका हुन्। देशभरका जिल्ला अदालतको तुलनामा सम्बन्ध विच्छेदका मुद्दा काठमाडौं जिल्ला अदालतमा धेरै पर्छन्। आर्थिक वर्ष २०७०/०७१ देखि २०७४/०७५ सम्म काठमाडौं जिल्ला अदालतमा १५ हजार ३ सय ८० मुद्दा दर्ता भएका छन्। अदालतको तथ्यांक हेर्दा बर्सेनि सम्बन्ध विच्छेदका मुद्दा बढ्दैछन्।

अदालतका उपसचिव तथा स्रेस्तेदार कृष्णप्रसाद नेपालका अनुसार २० देखि ३० वर्ष उमेर समूहको जोडी सम्बन्ध विच्छेदका लागि अदालत पुग्ने गरेका छन्। घरमा एकदमै पीडित भएर अदालत पुग्ने महिला कमैमात्र छन्। धेरेजसो श्रीमान विदेश गएर घर आउँदा पत्नीसँग मनमुटाव भई सम्बन्ध विच्छेदका लागि आउने गरेको स्रेस्तेदार नेपालले बताए। ‘वैदेशिक रोजगारी, महिला सचेतनाका कारण पनि होला सम्बन्ध विच्छेदको संख्या बढेको छ’, नेपालले भने, ‘महिलामैत्री कानुनलगायत विविध सामाजिक कारणले मुद्दा बढेको छ।’ चलिरहेको कानुनमा सम्बन्ध विच्छेदका लागि पुरुषले निवेदन दिए एक वर्ष कुनुपर्ने प्रावधान छ। तर, महिलाले मुद्दा हाल्नासाथ तत्काल निर्णय हुने व्यवस्था छ।