जेठ २९,
रोल्पा । २०७२ पुसमा जिल्लालाई खुला दिसामुक्त घोषणा गरेपछि सुस्ताएको पूर्ण सरसफाइ अभियान स्थानीय तहमा जनप्रतिनिधि पाएसँगै पुनः सक्रिय देखिन थालेको छ । अभियानलाई सार्थक तुल्याउन तथा तोकिएकै समयमा पूर्ण सरसफाइ उन्मुख बनाउन यहाँका जनप्रतिनिधिले विभिन्न सिर्जनशील अभ्याससमेत गर्न थालेका छन् । रोल्पाको सुकिदह गाउँपालिकाको एक वडाले सबै घर हरियो रंगले पोतेर देशकै पहिलो हरित वडा भएको दाबीसहित सार्वजनिक कार्यक्रममार्फत घोषणासमेत गरिसकेको छ भने उत्तरी रोल्पाको एक वडाले नङ नकाटेर भत्ता बुझ्न आउने सेवाग्राहीलाई सामाजिक सुरक्षा भत्ता नदिने भएको छ ।
थवाङ गाउँपालिका–३, मिरुलले यस्तो अभियानको थालनी गरेको हो । पूर्ण सरसफाइ अभियानलाई टेवा पु¥याउने उद्देश्यले वडाले यस्तो अभियान चालेको बताएको छ । पूर्ण सरसफाइका लागि व्यक्तिगत सरसफाइ पहिलो खुड्किलो भएकाले सामाजिक सुरक्षा भत्ता बुझ्ने सरसफाइमा संवेदनशील होउन् भन्ने उद्देश्यले यस्तो कार्यको थालनी गरेका हौँ, वडाध्यक्ष भीमबहादुर रोकाले भन्नुभयो ।