यौनधन्दा गराउने दलाल प्रहरीको फन्दामा

600

चैत १३,
काठमाडौं । प्रहरीले राजधानीको सञ्चयकोष भवन र केशरमहललाई आधार बनाउँदै महिलाहरुलाई आर्थिक प्रलोभनमा पारेर वेश्यावृत्ती गराउने महोत्तरीका भक्त बहादुर बुर्जामगरलाई प्रहरीले पक्राउ गरेको छ । धेरै पैसाका आश देखाएर महिलाहरुलाई राजधानीका विभिन्न होटलमा आफैंले ट्याक्सीमा लगिदीने सम्पर्क ब्यक्तिको रुपमा बुर्जामगरले काम गर्ने गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले जानकारी दिएका छन् ।
‘काठमाडौंमा उनले लामो समयदेखि वेश्यावृत्तिलाई गराएको खुल्न आएको छ’ एसएसपी पोखरेलले भने, ‘उनको गिरोहमा रहेका अन्य केही व्यक्तिको पनि पहिचान खुलेको छ, हामी खोजी गरिरहेका छौं ।’ गत शुक्रवार केशरमहलमा चार जना महिलाहरुसँग कुरा गरिरहेको अवस्थानमा नियन्त्रणमा लिएर बुर्जामगरमाथि जिल्ला अदालतका काठमाडौंबाट मानव बेचविखन तथा ओसारपसार मुद्दामा म्याद लिएर अनुसन्धान शुरु गरिएको बताइएको छ ।
बुर्जामगरले महिलाहरुलाई ललाई–फकाई यौन व्यवसायमा लगाएर आफैले ग्राहकसमेत खोजिदिएर कमिशन खाने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
यसैबीच, जबर्जस्ती करणी गरेर फरार भएका सुधिर कुमार कापर पक्राउ परेका छन् । २०७४ साउनमा काठमाडौंको तिलगंगा स्थित न्यु सिरहाली गेष्टहाउसमा काम गर्ने २२ वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेर फरार भएका कापरलाई ८ महिनापछि नियन्त्रणमा लिइएको काठमाडौं प्रहरीले जनाएको छ ।