काठमाडौँ । नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ ।
आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ ।आज घटस्थापनाको साइत बिहान ११स्४७ बजे रहेको समितिले जनाएको छ । आज दिनभर चित्रा नक्षत्र परेकाले शास्त्रीय वचनअनुसार मध्याह्नकालमा अभिजित् मुहूर्तको साइत घटस्थापनाका लागि दिइएको छ ।














