काठमाडौं । अमेरिकाले केही आप्रवासी भिसा आवेदकका लागि ‘पब्लिक चार्ज बन्ड’ अर्थात् सार्वजनिक सहायतासँग सम्बन्धित धरौटीको प्रक्रिया प्रयोग गर्न थालेको छ। यसको अर्थ अब अमेरिका जाने प्रत्येक व्यक्तिले लाखौं डलर धरौटी बुझाउनुपर्छ भन्ने होइन। यो पर्यटक, विद्यार्थी वा सबै प्रकारका आप्रवासी भिसामा स्वतः लागु हुने नियम पनि होइन। यो सुविधा त्यस्ता सीमित आवेदकका लागि हो, जसको आप्रवासी भिसा अमेरिकी सरकारको आर्थिक भार बन्न सक्ने सम्भावना देखिएको भन्दै रोकिएको छ, तर उनीहरू अन्य कानुनी मापदण्डमा योग्य छन्। त्यस्ता व्यक्तिलाई निश्चित रकम धरौटी राखेर भिसा पाउने अर्को अवसर दिन सकिने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।भिसा वा स्थायी बसोबासको आवेदन हेर्दा अधिकारीले आवेदकको उमेर, स्वास्थ्य, पारिवारिक अवस्था, आम्दानी, सम्पत्ति, शिक्षा, सीप र आर्थिक सहयोग गर्ने व्यक्तिको क्षमता जस्ता पक्षको समग्र मूल्यांकन गर्न सक्छन्। अहिलेको अमेरिकी विदेशी मन्त्रालयको नीतिअनुसार सामान्यतया जीवननिर्वाहका लागि दिइने सरकारी नगद सहायता तथा सरकारी खर्चमा हुने दीर्घकालीन नर्सिङ वा संस्थागत हेरचाहलाई यसमा हेरिन्छ। खाद्यान्न सहायता, विद्यालयको खाना, विपद् राहत, घरभाडा सहायता वा अधिकांश गैरनगद सुविधालाई स्वचालित रूपमा ‘पब्लिक चार्ज’ मानिँदैन।













