कांग्रेसले भन्यो : सरकार संकटमा पर्दा विषयान्तर गर्न खोज्छ

4

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार नैतिक तथा राजनीतिक संकटमा पर्दा समस्याको समाधान खोज्नुको सट्टा जनताको ध्यान अन्यत्र मोड्ने रणनीतिमा लागेको आरोप लगाएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता देवराज चालिसेले सरकार जनविश्वासको संकटमा पर्दा त्यसबाट बाहिरिने उपाय खोज्नुको सट्टा नयाँ–नयाँ विषय सिर्जना गरेर ध्यान मोड्ने प्रयास गरिरहेको टिप्पणी गरे ।‘नेपालको सन्दर्भमा जब सरकार नैतिक संकटमा पर्छ, जब राजनीतिक अक्षमता प्रदर्शित हुन्छ, जतिबेला जनविश्वसको संकटले सरकार घेरिन्छ तब समस्याको समाधान सरकार खोज्दैन,’ उनले भने, ‘त्यो समस्यालाई विषयान्तर गर्न अर्को घटना घटाउँछ । यो चलाखी सरकार गरिरहेको छ । ध्यान मोड्ने प्रयासमा सरकार लिप्त रहेको देखिन्छ ।’ सरकारले जतिसुकै विषयान्तर गर्न खोजे पनि सुशासन, पारदर्शिता, उत्तरदायित्व र नागरिक अधिकारसँग जोडिएका विषयहरू समाजमा सधैं जीवित रहने उनको भनाइ थियो ।