काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई नाफा–घाटाको हिसाबले मूल्यांकन नगर्न सरकारसँग आग्रह गरेका छन् । उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश जारी गर्दै नागरिकको मौलिक स्वास्थ्य अधिकारसँग जोडिएको कार्यक्रम भएकाले स्वास्थ्य बीमालाई व्यापारिक दृष्टिकोणबाट हेर्न नहुने बताएका छन् । सरकारका जिम्मेवार व्यक्तिहरूले ‘३५ सय रुपैयाँ शुल्क लिएर एक लाख रुपैयाँसम्मको सेवा कसरी दिन सकिन्छ ?’ भन्ने अभिव्यक्ति दिइरहेको उल्लेख गर्दै पौडेलले राज्यले नागरिकको ज्यानको मूल्य नाफा–घाटाको तराजुमा जोख्न नमिल्ने बताएका छन् ।














