७२ घण्टे औषधि : महिलाको शरीरमा के हानि गर्छ ?

5

काठमाडौं । ‘मैले ७२ घण्टे औषधि खाएँ । यसले के हानि गर्छ ?’प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. दीजा खनालको म्यासेज बक्समा साथीको प्रश्न थियो । उनले यसरी अरुबेला पनि औषधि खाएकी रहिछन् । साथीले एक वर्षमा पटक पटक अनियमित महिनावारी भइरहने बताएकी थिइन् । यस्तै, अर्की ३२ वर्षीया महिलाले पनि उनलाई आपतकालिन चक्की खाएपछि स्वास्थ्य समस्या भएको बताएकी थिइन् ।महिलाले भनेकी थिइन्, ‘७२ घण्टे औषधि खाएको ५ दिन पछि ४–५ थोपा चक्लेटको रङ जस्तो रगत दखियो । यसरी रगतको थोपा देखिएको १० दिन भइसक्यो ।’उनले शारीरिक रुपमा कमजोर महसुस गरेकी थिइन् । ‘गर्भ परीक्षण गर्ने किट ल्याएँ’ उनले सुनाइन्, ‘त्यो पनि नेगेटिभ देखाउँछ, किन होला ?’उनको अल्ट्रासाउन्ड गरियो । डिम्बाशयमा स–साना सिस्टहरू देखिए, एन्डोमेट्रियम पातलो थियो र हर्मोनल असन्तुलन प्रष्ट थियो ।धेरै विवाहित महिलाको साझा समस्या हो, जुन दिनहुँजसो डा. दीजाले सुन्ने गरेकी छिन् ।

डा. दीजा भन्छिन्, ‘उनीहरुले विभिन्न परिस्थिति र बाध्यतामा यस्तो औषधि खानुपरेको बताउँछन् । तर, बारम्बार खाँदा निकै जटिलता आउँछ भन्ने हेक्का राख्दैनन् ।’डा. दीजा भन्छिन्, ‘उनीहरुले विभिन्न परिस्थिति र बाध्यतामा यस्तो औषधि खानुपरेको बताउँछन् । तर, बारम्बार खाँदा निकै जटिलता आउँछ भन्ने हेक्का राख्दैनन् ।’ ७२ घण्टे औषधि के हो ? यसको भूमिका के हो ? ७२ घण्टे गर्भनिरोधक औषधि एक आपत्कालीन गर्भनिरोधक चक्की हो । यसलाई सामान्यत धेरैले ‘आई–पिल’ भनेर चिनिन्छ । सन्तानको इच्छा नहुँदा नहुँदै पनि कहिलेकाहीँ यौन सम्पर्कको क्रममा गर्भ रहने जोखिम रहन्छ । यस्तो जोखिम खासगरी कुनै पनि गर्भनिरोधक विधि नअपनाएको अवस्थामा हुन्छ । यसैगरी नियमित चक्की छुट्दा, कन्डम फुट्दा पनि अनिच्छित गर्भ रहनसक्छ ।

यस्तो अवस्थामा के गर्ने त ?

यसका लागि यस्तो औषधि बजारमा पाइन्छन्, जसले गर्भ रहने जोखिमलाई रोक्छ । यसलाई ‘आकस्मिक गर्भनिरोधक चक्की’ भनिन्छ । असुरक्षित सम्बन्धपछि ७२ घण्टाभित्र यो औषधि खाइसक्नुपर्ने हुन्छ ।‘जति छिटो औषधि खाइन्छ’ डा. दीजा भन्छिन्, ‘त्यति नै यो प्रभावकारी हुन्छ ।’

किन यसलाई आकस्मिक भनिन्छ ?
डा. दीजा भन्छिन्, ‘आकस्मिक गर्भनिरोधक चक्कीमा लेभोनोर्जेस्ट्रेल नामक सिन्थेटिक प्रोजेस्टिन हर्मोनको उच्च मात्रा हुन्छ । सामान्य अवस्थामा र नियमित खाइने गर्भनिरोधक चक्कीको भन्दा यसको डोज उच्च हुन्छ, जसले तुरुन्त प्रभाव पार्छ । यही कारण यसलाई आकस्मिक अवस्थामा मात्र प्रयोग गर्न सिफारिस गरिन्छ ।’

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. उपमा यसलाई ‘फायर एक्सटिङ्गुइशर’ जस्तै हो भनेर व्याख्या गर्छिन । उनी भन्छिन्, ‘धेरै महिलाले ७२ घन्टे औषधिलाई सजिलो विकल्प मान्छन् । तर यसको भूमिका नियमित सुरक्षा दिनु होइन । यो ‘फायर एक्सटिङ्गुइशर’ जस्तै हो । आगो लगाउन होइन, लागेपछि निभाउन प्रयोग गरिन्छ । त्यसैले, पटक पटक प्रयोग गर्नुहुँदैन ।’‘धेरै महिलाले ७२ घन्टे औषधिलाई सजिलो विकल्प मान्छन् । तर यसको भूमिका नियमित सुरक्षा दिनु होइन । यो ‘फायर एक्सटिङ्गुइशर’ जस्तै हो । आगो लागेपछि निभाउन प्रयोग गरिन्छ, घर तताउन होइन । त्यसैले, पटक पटक प्रयोग गर्नुहुँदैन ।’उनका अनुसार यो बाध्यकारी अवस्थामा खाने आकस्मिक सुरक्षा जाल हो, दीर्घकालीन परिवार नियोजनको विकल्प होइन ।

गर्भ बस्नबाट कसरी रोक्छ ?

गर्भ रहने जैविक प्रक्रिया तीन चरणमा निर्भर हुन्छ । डिम्ब निष्कासन, निषेचन र गर्भाशयको वातावरणमा विभिन्न तरिकाले असर गर्छ ।

पहिलो चरण, डिम्ब निष्कासन रोक्नु वा ढिलाइ गर्नु
महिनावारी चक्रको मध्यभागमा मस्तिष्कको पिट्युटरी ग्रन्थीबाट एलएच ल्यूटेनाइजिङ हर्मोन अचानक बढ्छ । यो हर्मोनले डिम्बाशयबाट अण्डा बाहिर निस्कन्छ । यसैलाई ओभुलेसन भनिन्छ । यही समयमा असुरक्षित सम्बन्ध भएमा गर्भ बस्ने सम्भावना उच्च हुन्छ । डा. दीजाका अनुसार ७२ घण्टे औषधिमा भएको उच्च मात्रा प्रोजेस्टनले मस्तिष्कलाई ‘शरीरमा पहिले नै पर्याप्त प्रोजेस्टेरोन छ’ भन्ने संकेत दिन्छ । यसले एलएच ल्यूटेनाइजिंग हर्मोन प्रवाहलाई रोक्न वा हुनै दिंदैन। डा. दीजा खनाल भन्छिन्, ‘जब यो हर्मोन प्रवाह नै हुँदैन, अण्डा बाहिर निस्कँदैन । जब अण्डा नै बाहिर निस्कँदैन, जसले शुक्रकीटसँग मिलन हुन नदिई गर्भ बस्ने सम्भावना घटाउँछ ।’ यदि औषधि ओभुलेसन हुनुअघि खाइयो भने यसको प्रभाव अत्यधिक हुन्छ ।

दोस्रो चरण : निषेचनमा अवरोध गर्नु
अण्डा निस्किसकेको अवस्थामा औषधि खाइयो भने पनि केही सुरक्षा बाँकी रहन्छ । डा. दीजा स्पष्ट पार्छिन्, ‘उच्च मात्रा प्रोजेस्टिनले गर्भाशयको मुखमा हुने (म्युकस)चिप्लो तरल पदार्थलाई बाक्लो बनाउँछ । सामान्य अवस्थामा इस्ट्रोजेन बढी हुँदा म्युकस पातलो र चिप्लो हुन्छ, जसले शुक्रकीटलाई सजिलै अण्डासम्म पुग्न मद्दत गर्छ । बाक्लो म्युकसले शुक्रकीटको गतिलाई सुस्त बनाउँछ, जसले अण्डासम्म पुग्न गाह्रो बनाउँछ । यसले निषेचनको सम्भावना घटाउँछ ।’यसले शुक्रकीटको जीवन अवधि र गतिशीलता पनि घटाउन सक्छ, जसले निषेचनको सम्भावना कम गरी गर्भ रोक्न मद्दत गर्ने उनी बताउँछिन् ।

तेस्रो चरण : गर्भाशयको वातावरण परिवर्तन गर्नु
दुर्लभ अवस्थामा निषेचन भइसकेको छ भने पनि औषधिले गर्भाशयको भित्री तह अर्थात् एन्डोमेट्रियममा असर गर्छ । सामान्य अवस्थामा इस्ट्रोजेन र प्रोजेस्टेरोनको सन्तुलनले एन्डोमेट्रियमलाई बाक्लो र नरम बनाउँछ, ताकि भ्रूण सजिलै बस्न सकोस् । तर ७२ घण्टे औषधिमा भएको उच्च प्रोजेस्टिनले यो सन्तुलन बिगारेर एन्डोमेट्रियम पातलो बनाउन सक्छ । डा. दीजा भन्छिन्, ‘एन्डोमेट्रियम पातलो हुँदा भ्रूणलाई बस्न उपयुक्त ठाउँ तयार हुँदैन । तर यदि भ्रूण पहिल्यै बसिसकेको छ भने यस औषधिले त्यसलाई हटाउन सक्दैन ।’