बिथोलिएको राजनीतिलाई अगाडि बढाउने : केपी ओली

57

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिका दूरगामी यात्रालाई पुनः अगाडि बढाउने विश्वास व्यक्त गरेका छन् ।

नयाँ वर्ष सन् २०२३ को उपलक्ष्यमा आज यहाँ जारी शुभकामना सन्देशमा उनले नयाँ वर्षको आगमनसँगै मुलुक राष्ट्रिय राजनीतिक दिशा निर्धारण गर्ने प्रयासमा अघि बढेको बताए । उनले सन्देशमा भनेका छन्, ‘एमाले देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्शालाई पूरा गर्न चाहन्छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले एमालेले लोकतन्त्रलाई राजनीतिक अधिकारको सङ्कुचित परिभाषाबाट माथि उठाउँदै जनताका सबै आवश्यकता र अधिकार परिपूर्तिको जीवन मूल्य समेटिएको परिपूर्ण लोकतन्त्रका रूपमा व्यवहारमा अनूदित गर्न चाहेको बताए ।

‘हामी जनताको जीवनमा परिवर्तन ल्याउन देशलाई सुशासनयुक्त, पछौटेपनमुक्त गरिबीरहित, सुशासित, आधुनिक, समृद्ध र सुविधा सम्पन्न बनाउन आफूले लिएको अग्रसरतालाई अझ असाधारण र द्रुतगतिमा अघि बढाउन चाहन्छौँ’, उनको सन्देशमा भनिएको छ । समृद्ध नेपाल, सुखी नेपालीको यस राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न सुस्थिर राजनीति अपरिहार्य रहेको उल्लेख गर्दै उनले त्यसका लागि आ–आफ्ना ठाउँबाट योगदान गर्न सबै राजनीतिक दल र पक्षहरूसँग आग्रह गरेका हुन् ।