Wednesday, September 23, 2026
Home राजनीति वैदेशिक रोजगारीमा हुने ठगी शून्यमा झार्ने श्रममन्त्रीको दाबी

वैदेशिक रोजगारीमा हुने ठगी शून्यमा झार्ने श्रममन्त्रीको दाबी

6

काठमाडौँ : युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारको क्षेत्रमा हुने ठगीलाई न्यूनीकरण गर्दै शून्यमा पुर्‍याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताएका छन्। मंगलबार ताहाचलस्थित वैदेशिक रोजगार विभागको निरीक्षणका क्रममा मन्त्री यादवले वर्षौँदेखि थन्किएर रहेका उजुरीका फाइललाई व्यवस्थापन गरी दोषीमाथि कारबाही अघि बढाउने प्रतिवद्धता व्यक्त गरे। उनले वि.सं. २०५७ सालदेखि थन्किएर बसेका ४० हजारभन्दा बढी उजुरीका फाइलहरू हालै फेला परेको दाबी गरे। दशकौँदेखि कसैले चासो नदिएका यी फाइलहरूलाई विभागको नेतृत्वमा धुलो टकटकाएर व्यवस्थित गर्ने तयारी मन्त्रालयको रहेको पनि बताए।

‘यो नयाँ सरकारप्रति जनताले गरेको विश्वासलाई आत्मसात् गर्दै हामीले वैदेशिक रोजगारसम्बन्धी ठगीलाई न्यूनीकरण गर्दै अन्ततः शून्यमा झार्ने लक्ष्य लिएका छौँ’, उनले भने, ‘तुरुन्तै परिवर्तन किन देखिएन भन्ने जिज्ञासा स्वाभाविक हो। यसको एउटा प्रमुख कारण २०५७ सालदेखि थन्किएर बसेका उजुरीका फाइलहरू हुन्। ती फाइल वर्षौँसम्म व्यवस्थित रूपमा अध्ययन वा अनुसन्धान हुन सकेका थिएनन्। हाम्रो टोलीले महानिर्देशकज्युको नेतृत्वमा ती फाइलहरूलाई खोजी, व्यवस्थापन र वर्षअनुसार वर्गीकरण गरेको छ । हाल करिव ४० हजारभन्दा बढी फाइल व्यवस्थित गरिएको अनुमान छ। अब ती सबै फाइललाई क्रमशः डिजिटलाइज गर्दै अनुसन्धान प्रक्रिया अघि बढाइनेछ।’उनले वैदेशिक रोजगारीको विकल्पका रूपमा आन्तरिक रोजगारीलाई प्रवर्धन गर्न मन्त्रालयले १५ वटा विभिन्न ‘रोजगार प्याकेज’ ल्याउन लागेको र त्यसका लागि अध्ययन भइरहेको समेत दाबी गरे। यो प्रणालीलाई मर्यादित, पारदर्शी र श्रमिकमुखी बनाउन अहिले ‘सफाई अभियान’ चलिरहेको उल्लेख गर्दै उनले छिट्टै युवाहरूले स्वदेशमै रोजगारी पाउने वातावरण बन्ने विश्वास दिलाए।