काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनलाइन बोलपत्र प्रणाली ह्याकिङमा संलग्न रहेको आरोपमा धमाधम ठेकेदारहरुलाई पक्राउ गरिहरेको छ । सार्वजनिक खरिदसम्बन्धी सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को ई-गभन्र्मेन्टव प्रोक्र्युर्मेन्ट (ई-जीपी) प्रणालीमा अनधिकृत पहुँच पुर्याई ठेक्का विवरण हेरफेर गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको सीआईबी स्रोत बताउँछ ।
प्रहरीका अनुसार गिरोहका मुख्य व्यक्ति मानिएका आशिष निर्माण सेवाका ऋषिकेश गौलीलाई पक्राउ पुर्जी जारी गरे उनी पक्राउ परेका छैनन् । उनका छोरा निर्माण गौली फरार छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेडको १) अर्बको ५ वटा प्याकेजमध्ये ३ वटा ठेक्का ह्याकरको मद्दत लिएर सिष्टममा अनधिकृत पहुँच पुर्याइ लिएको पाइएपछि आशिष निर्माण सेवाका संचालकद्वय ऋषिकेश गौली र निर्माण गौली अनुसन्धानमा तानिएका हुन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेडका ५ वटै प्याकेजका बोलपत्रमा सीआईबीले अनुसन्धान गरिरहेको छ । खानेपानीका २ वटा प्याकेजको ठेक्का पाएको भिमेश्वर ग्रुपको बारेमा पनि अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । केही दिन अगाडी पक्राउ पर्ने अन्यमा भिषण कन्ट्रक्सनका सञ्चालक टंक कुमार श्रेष्ठ र चपुर निर्माण सेवाका सञ्चालक अमृत बोहरा छन् ।
तुँदी कन्ट्रक्सनका सुमन सुवेदी, समानान्तरका अच्यूतप्रसाद खरेल, रेलिगेयरका संचालक शेरबहादुर केसीलगायत पनि ह्याकिङ गरेर ठेक्का लिएकोमा अनुसन्धानमा तानिएका हुन् । यस प्रकरणमा एक दर्जन भन्दा बढी ठेकेदारहरू सीआइबीको अनुसन्धानमा छन् । ठेकेदार विक्रम पाण्डे समेत पक्राउ परेका छन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेतासमेत हुन् । अन्य पक्राउ पर्ने अन्यमा भरत धामी, सञ्जय भट्ट, भाष्करराज अर्याल, सागर कटुवाल, जीवनकुमार दास, अनिल श्रेष्ठ र कम्प्युटर अपरेटर दिवाकर देउजा रहेको श्रेष्ठले बताए । देउजाले सहरी विकास तथा भवन कार्यालय धनकुटाबाटै ‘टेण्डर ह्याकिङ’मा सहयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ पर्नेमा सिराहा घर भई हाल भक्तपुर बस्दै आएका ३) वर्षीय स्वदेश पोखरेल र नुवाकोट घर भई हाल काठमाडौं बस्दै आएका ४१ वर्षीय प्रकाश ढुंगाना छन्।
प्रहरीले पक्राउ गर्ने बुझेपछि केही ठूला ठेकेदार सम्पर्कविहीन बनेर फरार भएका छन् । प्रहरीको लिष्टमा रहेका अन्य निर्माण कम्पनी र ठेकेदारहरूको सूची निकै लामो रहेको छ । तीमध्ये शर्मा एन्ड कम्पनीका रमेश शर्मा, मोतीदान निर्माण सेवाका विकास गौतम, रसुवा कन्स्ट्रक्सनका मोहन आचार्य, समानान्तर कन्स्ट्रक्सनका अच्यूतप्रसाद खरेल, सगुन कन्स्ट्रक्सनका सहदेव खड्का, रौताहा कन्स्ट्रक्सनका धीरेन्द्र दाहाल, कुमार श्रेष्ठ कन्स्ट्रक्सनका सुशीलकुमार श्रेष्ठ, तुँदी कन्स्ट्रक्सनका सुमन सुवेदी, शिवांश निर्माण सेवाका अनिल श्रेष्ठ र गीताञ्जली निर्माण सेवाका जीवन दास रहेका छन् ।
यसैगरी, रेलिगेयरका सञ्चालक शेरबहादुर केसी, भिमेश्वर ड्रिलिङ तथा निर्माण सेवासँग सम्बन्धित समूह तथा अन्य संयुक्त उद्यम (जेभी)मार्फत ठेक्का लिने कम्पनीहरू पनि अनुसन्धानमा तानिएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीसमेत यस प्रकरणमा जोडिनुले घटनालाई झन् संवेदनशील बनाएको छ । अनुसन्धानमा देखिएको सबैभन्दा गम्भीर तथ्य भनेको ‘ह्याकर’को प्रयोग हो । केही निर्माण व्यवसायीहरूले पेसेवर ‘ह्याकर’ भाडामा लिएर ई–गभर्मेन्ट प्रोक्योरमेन्ट (ईपीजी) प्रणालीमै घुसपैठ गर्ने गरेको पाइएको छ । आर्थिक प्रस्ताव खोलिनुअघि नै प्रतिस्पर्धीको दररेट थाहा पाउने, त्यसअनुसार आफ्ना प्रस्ताव मिलाउने, वा सिधै सिस्टममै अंक परिवर्तन गर्ने कार्य भएको देखिएको छ । महासंघका उपाध्यक्ष सहदेव खड्का र वरिष्ठ उपाध्यक्ष मुकेश पन्त (रामजी) पनि प्रहरीको निगरानीमा रहेका छन् । स्रोतका अनुसार पन्त हाल फरार छन् भने खड्काले अनुसन्धान प्रभावित पार्न विभिन्न प्रयास गरिरहेको आशंका छ ।














