इस्लामिक क्यालेन्डरले नवौं महिनाका रूपमा रमजानलाई व्याख्या गरेको छ । यो महिना इस्लाम धर्मको सबैभन्दा पवित्र महिनाको रूपमा मानिन्छ, जसमा मुस्लिम समुदायले उपवास ‘सौम’, प्रार्थना, आत्म–चिन्तन र सामुदायिक एकताको अभ्यास गर्छन् । रमजानको सुरुवात इस्लामिक चन्द्र पात्रोमा आधारित हुन्छ, जसमा नयाँ चन्द्रमाको दर्शनबाट निर्धारण गरिन्छ । इस्लाम धर्मावलम्बीहरूले महिनाभर सूर्योदयदेखि सूर्यास्तसम्म व्रत बस्ने चलन छ, जसलाई रोजा पनि भन्ने गरिन्छ । यो व्रत इस्लामका पाँच स्तम्भहरू मध्ये एक हो, जसलाई ‘सौम’ भनिन्छ ।नेपाल जामे मस्जिदका अध्यक्ष अब्दुल समिमले यसलाई इस्लामको मूल सन्देशसँग जोड्दै भनेका छन् । उनका अनुसार रमजान स्व–अनुशासन, प्रार्थना र दानको महिना हो, जसले मुस्लिम समुदायलाई एकताबद्ध बनाउँछ र नैतिक जीवन जिउन प्रेरित गर्छ । रमजान हरेक वर्ष एकै दिन वा महिनाबाट सुरु हुँदैन, यसको कारण चाहिं इस्लाम धर्मावलम्बीको पात्रो हो । इस्लाम पात्रो (हिजरी क्यालेन्डर) चन्द्रमाको चक्रमा आधारित हुन्छ, जसले गर्दा यसको सुरुवात ग्रेगोरियन क्यालेन्डरमा प्रत्येक वर्ष करिब १०–११ दिन अगाडि सर्छ । इस्लाम पात्रोलाई मान्यता दिने चलन अनुरूप प्रत्येक वर्ष रमजान सुरु हुने मिति १० दिनसम्मले फरक पर्न सक्छ ।














