विदेश भ्रमणको धेरै निम्तोमा गएनन् मन्त्री पुन

7

काठमाडौं । शिक्षा मन्त्री महाबीर पुनले आफू मन्त्री बनेपछि पाँच वटा विदेश भ्रमणको निम्तो अस्वीकार गरेको बताएका छन्। आफ्नै क्याबिनेटका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण विवादमा रहेका बेला मन्त्री पुनले आफूले विदेश भ्रमणको निम्तो अस्वीकार गरेको बताएका हुन्। सामाजिक सञ्जालमा लेख्दै मन्त्री पुनले यसअघि आएका तीन वटा विदेश भ्रमणमा नगएको उल्लेख गर्दै अहिले पनि आएका दुई वटा निमन्त्रणामा नजाने बताएका हुन्। ‘लौ जा, म मन्त्री भएपछि पहिला पनि निमन्त्रणा आएको तीन वटा विदेश भ्रमण गइनँ। अहिले पनि दुई वटा निमन्त्रणा आएछ। यसमा पनि जान्नँ।’ उनले लेखेका छन्, ‘देशको अर्थतन्त्र नसुधारेसम्म जो सुकै प्रधानमन्त्री र अर्थमन्त्री आए पनि केही प्रगति हुनेवाला छैन किन भने केही गर्न पैसा चाहिन्छ। विदेश घुमेर अर्थतन्त्र बन्छ ?’