काठमाडौं । आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल छनोट आगामी जनवरी १८ देखि नेपालमा सुरु हुँदैछ । घरेलु मैदानमै हुने यस महत्वपूर्ण प्रतियोगिताका लागि नेपाली महिला क्रिकेट टिम यतिबेला तयारीमा व्यस्त छ । पहिलोपटक एसिया चरणको छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको नेपाली टोली अब पहिलोपटक महिला टी-२० विश्वकप खेल्ने लक्ष्यका साथ तयारी गरिरहेको छ । टोलीले प्रशिक्षणका साथै अभ्यास खेलहरू पनि खेलिरहेको छ ।नेपालले समूह चरणमा थाइल्यान्ड, नेदरल्यान्ड्स, स्कटल्यान्ड र जिम्बाबेको सामना गर्नेछ । नेपाल क्रिकेट संघले सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालका चारवटै खेल त्रिवि क्रिकेट मैदानमा हुनेछन् । तालिका अनुसार नेपालको पहिलो खेल थाइल्यान्डसँग माघ ४ गते विहानको समयमा त्रिवि क्रिकेट मैदानमा हुनेछ । नेपालको दोस्रो खेल नेदरल्यान्ड्ससँग माघ ८ गते विहान त्रिवि क्रिकेट मैदानमा हुनेछ।नेपालको तेस्रो खेल माघ १० गते शनिबार जिम्बाबेसँग विहानको समयमा हुनेछ । चौथो खेलमा नेपालले माघ १२ गते सोमबार विहान स्कटल्यान्डसँग खेल्नेछ ।














