-सुरेन्द्रराज गोसाई
दिन, हप्ता, महिना र वर्ष हुंदै
मेरा दशकहरू बित्दै गए
मेरा दशकहरू बित्दै छन्
जसरी बग्दै छ मेरो छेवैबाट ब्रम्हायणी खोला
जसरी बग्दै छ युगौंदेखि बेहिसाब ब्रम्हायणी खोला!
जसरी बग्दथ्यो फांटहरू सिंचॅंदै ब्रम्हायणी खोला!
ब्रम्हायणी खोलामा पौडी खेलेका ती दिनहरू
ब्रम्हायणी खोलामा माछा मारेका ती क्षणहरू
कागजका डुंगा चलाउॅंदाका ती पलहरू
रमाइलो अतीत बन्यो
स्मृतिका अमिट डोब बने!
याद छ अझै,
शान्त हावा र शान्त पानीमा
पातला ढुंगा हुत्याएर खेल्दाको रमाइलो
पातलो ढुंगा पानीको स्पर्श गर्दै निकै परसम्म हुत्याउॅंदा
आर्किमिडिजको ‘युरेका…..युरेका!’ चिच्याहटसरि
आफैं विजयी मुद्रामा उफ्रिॅंदाको आनन्द
आजसम्म पनि अनुभूत हुंदै छ।
तिमीले बगाउॅंदै ल्याएका प्रत्येक ढुंगालाई
बाल्यकालको आफ्नो प्यारो खेलौना सम्झेको छु
तिमीले दिएको अमूल्य उपहार ठानेको छु।
ब्रम्हायणी खोला,
जल-जमीन-जीवन सम्बन्धको सूत्रधार!
मेरो पहिलो विज्ञान प्रयोगशाला!
तैरिने र डुब्ने नियमको शिक्षक!
पानीको बेग तथा शक्तिको सचेतक!
जीवन र जगतको प्रारम्भिक उद्घोषक!
ब्रम्हायणी खोला मेरो बालापनको साथी
ब्रम्हायणी खोला मेरो बालापनको दर्पण!
ब्रम्हायणी खोला,
एउटा वरदान, एउटा जीवनदान
परिश्रमी किसानको रक्तनली
मेरो वस्तिको मेची-महाकाली!
मेरो वस्तिको कोशी-कर्णाली!
ब्रम्हायणी खोला,
असंख्य मानिसहरू नुहाउन बस्दा
दिदीबहिनीहरू लुगा-कपडा धोइरहॅंदा
आमाहरू घरघरका भांडा-वर्तन धोई-पखालिरहेको देख्दा
किसानहरू खेतबाट फर्केर हातमुख धोइरहॅंदा
र, घर लानु अघि कुतो-कोदाली चिटिक्क पार्दै गर्दा
लाग्थ्यो,तिमी एउटा असली सफाइ कार्यकर्ता
लाग्थ्यो, तिमी सफाइ आन्दोलनका रचयिता!
ब्रम्हायणी खोला,
अरू धेरैभन्दा बढ्ता अथक किसान कार्यकर्ता लाग्छ
भोकविरूद्ध लड्दै गरेको सच्चा कामरेड लाग्छ,
गरिबीविरूद्ध निरन्तर युद्धको शंखनाद गर्ने जोधाहा लाग्छ
दिनरात नभनी खेत-खलिहान पुगिरहने,
झुपडी, गल्लीसम्मै अन्नपात पुर्याइरहने,
मेहिनत गर्नेलाई भोकै कहिल्यै नराख्ने
कामगरी खानेको सुखदुःखमा हरपल साथै रहने!
ब्रम्हायणी खोला
तिमीले असंख्यको भोक-प्यास मेटेथ्यौ
तर, आज आफैं निकै दुब्लाउॅंदै छौ!
असंख्यलाई सफाचिटिक्क पारेथ्यौ
तिमी आज आफैं निकै मैलिॅंदै छौ!
असंख्यलाई बास, आस, सास दिएथ्यौ
आज कैयौं चराचुरूंगीहरूबाट समेत त्यागिइॅंदै छौ!
ब्रम्हायणी खोला
तिमी एउटा जीवन दर्पण
तिमी एउटा जीवन दर्शन!
ब्रम्हायणी खोला
तिमी सुक्दा हामी निकै दुःखी भएथ्यौं
तिमी सुक्दा हामी कति दिन रोएथ्यौं
“हर हर महादेव, पानी देऊ” भनी
‘जुलुस’ नै गएथ्यौं!
ठुली ब्रम्हायणीसम्मै पुगेर चिन्ता जाहेर गरेथ्यौं।
तिमी रिसाएर उर्लॅंदा हामी कहिलेकाहीं आतंकित पनि भएथ्यौं!
तिमीले बगरनै बगाएर लग्दा कतिले सरापेथे
तिमीले बालीनाली समेत बिगार्दा कतिले धिक्कारेथे !
हो, तिम्रो र मेरो सम्बन्ध द्वन्द्व र प्रेमको उत्कृष्ट कथा!
कहिले म रोएं, कहिले तिमी रोयौ!
कहिले मैले हॅंसाएं, कहिले तिमीले हॅंसायौ!
ब्रम्हायणी खोला,
तिमी र हामीले एउटा वास्तविक जीवन बांच्यौं
तिमी र हामीले एउटा जीवन्त सम्बन्ध गांस्यौं
तिमी र हामीले एउटा सार्थक नाता जोड्यौं
कहिले हांस्यौं, कहिले रोयौं
कहिले नाच्यौं, कहिले गायौं!
ब्रम्हायणी खोला,
चाडबाडका पुष्प-नैवेद्य बोकेर नाच्दै बगेको
मैले कैयौं पटक देखेको छु
उत्सवका गीत गुनगुनाउॅंदै कुदेको सुनेको छु।
बिछोड, बिरह र वेदना बोकी सुंकसुकाउॅंदै हिॅंडेको देखेको छु।
अन्तिम बिदाइको अस्तु लिएर शोक धून गुन्जाउॅंदै बगेको देखेको छु।
ब्रम्हायणी खोला,
तिमी जन्म, जिन्दगी र मृत्युको साक्षी!
हरेक मोहनीको नवमीमा
महिषासुर अर्थात खःम्येले ब्रम्हायणी खोला तर्ने बेला
तिम्रो रौद्र रूप मैले नजिकबाट देखेको छु।
महिषासुर-वधपश्चात्को तिम्रो विजय-नाचसॅंगै
मैले पनि हर्षोल्लासपूर्वक नाचेको छु।
हो, मैले तिम्रो विद्रोही स्वभाव बारबार अनुभूत गरेको छु
लाग्छ, न्यायप्रतिको तिम्रो अगाढ आस्था अतुलनीय छ।
ब्रम्हायणी खोला,
तिमीलाई चालै नदिई उज्यालो नखस्दै
कैयौं पटक तिमीलाई भेट्न आएको छु
तिमीलाई पत्तै नदिई कैयौं रात तिम्रो छेवैमा पुगेको छु
चौबिसै घण्टा आफ्नै लयमा बगिरहेको देखेर
म आश्चर्यचकित भएको छु
र,
आफ्नो अल्छिपनलाई आफैंले लोप्पा खुवाएको छु
तिमीमा एक असल अथक कामरेडको बिम्ब भेटेको छु!
ब्रम्हायणी खोला,
जेजस्तो भएनि
तिमी अविरल बगिरहनू!
तिमी अविचलित उर्लिरहनू
भोलि म रहुंला या नरहुंला
तैपनि, सम्झेर भेट्न आइरहनू!
युगयुगसम्म हाम्रो मित्रताको गीत गुन्जाइरहनू!
युगयुगसम्म हाम्रो कामरेडेली भावना सुसाईरहनू!
३ मंसिर, ०८२
लेखक बागमती प्रदेश सभाका सदस्य हुनुहुन्छ ।














