हामीले मान्दै आएकाछौं पिता परिवारको पिलर हो, जसले पूरा परिवारलाई आफ्नो काँधमा बोकेर हिँडिरहेको हुन्छ । आफ्ना छोराछोरीका आकांक्षा, उद्देश्य र सपनाहरूका लागि हरक्षण संघर्ष गरिरहेको हुन्छ । पिताको भूमिका केवल आर्थिक सहयोगमा सीमित छैन । भावनात्मक, नैतिक र सामाजिक जिम्मेवारी पनि उत्तिकै हुन्छ ।यहाँ केही त्यस्ता फिल्मको चर्चा गर्न लागिएको छ । यसमा पितालाई एक यस्तो व्यक्तित्वको रूपमा चित्रण गरिएको छ, जो सन्तानको खुसी र सफलताका लागि जस्तोसुकै कठिनाइसँग लड्न तयार छन् । यी फिल्मका कथाले पिताको योगदानलाई कदर गर्न सिकाउँछ । हाम्रो जीवनमा उनीहरूको महत्व र मायालाई बुझ्न प्रेरित गर्छ ।
१. द परस्युट अफ ह्यापिनेस (२००६)
यो हलिउड फिल्म क्रिस गार्डनरको वास्तविक जीवनमा आधारित छ, जसले आर्थिक संकट र बेघर अवस्थामा पनि आफ्नो छोराको भविष्यका लागि अथक संघर्ष गर्छन् । विल स्मिथले अभिनय गरेको क्रिस गार्डनरको चरित्रले एकल पिताको जिम्मेवारी, धैर्यता, र आशालाई चित्रण गर्छ। यो फिल्मले पिताको स्नेह र छोराप्रतिको समर्पणलाई मार्मिक रूपमा देखाउँछ ।यसमा क्रिसले आफ्नो छोरालाई प्रेरणा दिँदै भन्छन्, ‘तिमीले चाह्यौ भने कुनै पनि सपना पूरा गर्न सक्छौ ।’
२. फादर अफ द ब्राइड (१९९१)
यो हलिउड कमेडी-ड्रामा फिल्म हो । यसले एक पिताको भावनात्मक यात्रालाई प्रस्तुत गर्छ, जसले आफ्नी छोरीको विवाहको तयारीमा आफ्ना भावनाहरूसँग जुध्नुपर्छ । स्टिभ मार्टिनले अभिनय गरेको जर्ज ब्याङ्क्सको चरित्रले छोरीको विवाहको समयमा पिताको माया, चिन्ता र पीडालाई हास्य र भावनात्मक रूपमा देखाउँछ । यो फिल्मले पिताको संरक्षक भूमिका र छोराछोरीको खुसीका लागि आफ्नो भावनालाई त्याग्ने क्षमतालाई देखाउँछ ।
३. लाइफ इज ब्युटिफुल (१९९७)
इटालियन फिल्म ‘लाइफ इज ब्युटिफुल’ दोस्रो विश्वयुद्धको समयमा एक यहुदी पिता ग्विडो (रोबर्टो बेनिग्नी) को कथा हो । यसमा उनले आफ्नो सानो छोरालाई नाजी शिविरको क्रूरताबाट जोगाउन खेलको भूमिकाको परिस्थितिलाई प्रस्तुत गरिएको छ ।
ग्विडोले आफ्नो छोराको मनोबल उच्च राख्न र उसलाई डरबाट बचाउन हरसम्भव प्रयास गर्छन्। यो फिल्मले पिताको बलिदान, सकारात्मकता र छोराप्रतिको अटल प्रेमलाई मर्मस्पर्सी ढंगबाट प्रस्तुत गरेको छ ।
४. टु किल अ मकिङबर्ड (१९६२)
यो क्लासिक अमेरिकी फिल्म हार्पर लीको उपन्यासमा आधारित छ, जसमा एकल पिता एटिकस फिन्च (ग्रेगरी पेक) ले आफ्ना दुई सन्तानलाई नैतिकता, न्याय र समानताको पाठ सिकाउँछन् ।
एटिकसले एक वकिलको रूपमा रंगभेदविरुद्ध लड्दै आफ्ना छोराछोरीलाई सही र गलतको बोध गराउँछन् । यो फिल्मले पितालाई नैतिक मार्गदर्शक र सत्यको पक्षमा उभिने प्रेरणादायी व्यक्तित्वको रूपमा प्रस्तुत गरेको छ ।
६. द गडफादर (१९७२)
फ्रान्सिस फोर्ड कोपोलाको यो क्लासिक फिल्मले भिटो कोर्लियोन (मार्लन ब्रान्डो) लाई एक अपराधमा संलग्न परिवारको पिताको रूपमा प्रस्तुत गर्छ, जो आफ्नो परिवारको सुरक्षा र सम्मानका लागि हरसंभव प्रयास गर्छ । भिटोको चरित्रले पिताको संरक्षक, मार्गदर्शक र बलिदानी भूमिकालाई देखाउँछ । उनले आफ्ना सन्तानलाई शक्ति र जिम्मेवारीको सन्तुलन सिकाउँछ । यो फिल्मले पिताको पारिवारिक नेतृत्व र समर्पणलाई देखाएको छ ।
५. बाइसाइकल थिभ्स (१९४८)
इटालियन नियो-रियलिस्ट फिल्म ‘बाइसाइकल थिभ्स’ ले युद्धपछिको इटालीमा एक गरिब पिता एन्टोनियो (लम्बेर्तो म्यागियोर्नी) को कथा भन्छ, जो आफ्नो चोरी भएको साइकल खोज्न आफ्नो छोरासँग शहरभरि भौंतारिन्छ। साइकल उसको जीविकाको आधार हो, र उसले आफ्नो परिवारको भविष्यका लागि जे पनि गर्न तयार हुन्छ । यो फिल्मले पिताको संघर्ष, गरिबी र छोराप्रतिको जिम्मेवारीलाई गहिरो रूपमा चित्रण गर्छ।












