विपक्षी दलहरूको बैठक जारी

6

काठमाडौं : विपक्षी दलहरूको बैठक बसिरहेको छ। भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लखेकको राजीनामा तथा उच्चस्तरीय छानबिन माग गर्दै आएका उनीहरूको बैठक बानेश्वरमा जारी छ। माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बसिरहेको बैठकमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी लगायतका दल सहभागी छन्। नेताहरूका अनुसार संसद् अवरोध जारी राखेको अवस्थामा अब के गर्ने भन्नेबारे छलफल भइरहेको हो। यसअघि सिंहदरबारमा सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका प्रमुख सचेतकसँग गरेको छलफल निष्कर्षविहीन बनेको थियो। सत्ता पक्षले गृहमन्त्रीले राजीनामा पनि नदिने र उनीमाथि छानबिन समिति पनि नबन्ने अडान दोहोर्‍याएका थिए भने विपक्षीले पनि आफ्नो अडान नछाड्ने बताएका थिए। विपक्षीहरूले अडान नछाडेपछि सभामुख घिमिरेले सहमतिका लागि पटक–पटक संसद् बैठक स्थगित गरे पनि निकास नदिएको भन्दै असन्तुष्टि जनाएका थिए। संसद अवरोधका कारण बजेटमाथिको छलफल प्रारम्भ हुन नसकेको उल्लेख गर्दै उनले संवैधानिक सीमा र व्यवहारिक पक्षको ख्याल गर्न आग्रह गरेका थिए।