Thursday, October 22, 2026
Home मनोरन्जन भजन “जय जय भगवती सुपा देउरालीकी माई” सार्वजनिक

भजन “जय जय भगवती सुपा देउरालीकी माई” सार्वजनिक

102

अर्घाखाँची । जिल्लास्थित सुपा देउराली मन्दिरको महिमा समेटिएको भजन “जय जय भगवती सुपा देउरालीकी माई” सार्वजनिक गरिएको छ। सुपा देउराली मन्दिरको धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्वलाई उजागर गर्ने उद्देश्यले तयार गरिएको यस भजनको संगीत भिडियोले दर्शक-श्रोताको मन जित्ने विश्वास लिइएको छ। भजनमा लोकसंगीत क्षेत्रमा सक्रिय बहुप्रतिभाशाली कलाकार मोतिराज खनालको नेतृत्व, स्वर, संगीत र अभिनय समावेश गरिएको छ। साथै, शब्द मोतिराज खनाल र शेषनारायण पोखरेलले तयार पारेका हुन्। संगीत संयोजन खनाल स्वयं र धर्मेन्द्र अर्यालले गरेका छन्।

भजनमा मोतिराज खनालसँगै शेषनारायण पोखरेल, धर्मेन्द्र अर्याल, पुनम बस्याल र मञ्जु गुरुङको स्वर सुन्न सकिन्छ। भिडियो निर्देशन सुरज खनालले गरेका छन् भने कोरियोग्राफी शिवजी क्षत्रीले गरेका छन्। सुपा देउराली मन्दिरलाई “इच्छा पूरा हुने मन्दिर” का रूपमा व्यापक जनविश्वास रहेको छ। यो मन्दिर श्रद्धा, आस्था र भक्तिको केन्द्र मात्र नभई पर्यटनको दृष्टिले पनि महत्वपूर्ण मानिन्छ। नरपानी क्षेत्र नजिकै अवस्थित मन्दिरबाट आसपासका पहाड, जंगल र गाउँको दृश्यावलोकन गर्न सकिने भएकोले धार्मिक भ्रमणसँगै प्राकृतिक सौन्दर्यको आनन्द लिन सकिन्छ।

भिडियोमा चर्चित कलाकार सुरबिर पण्डित (दारी बा), शर्मिला शर्मा, र सलिना खड्काको अभिनय देख्न सकिन्छ। साथै छबिलाल सुवेदी, नारायण लेकाली, नन्दराज रेग्मी, लेखान्त भुषाल, सुमन खनाल, गान्दिभ सुवेदी, घनश्याम खनाल, चन्द्रकला खनाल, गिरी खनाल, चोपलाल खनाल लगायत दर्जनौं कलाकारको समेत सहभागिता रहेको छ। भजनको छायांकन विशाल जिसीले, श्रृङ्गार जीवन पासाले, एरेञ्ज विश्वास नेपालले, रेकर्डिङ सागर बाजुरालीले तथा मिक्सिङ खडक बाजुरालीले गरेका छन्। सम्पूर्ण निर्माण कार्य मालाश्री स्टुडियोमा सम्पन्न गरिएको हो। निर्माताहरूका अनुसार भजनले धार्मिक चेतना मात्र नभई सांस्कृतिक जागरण र आन्तरिक पर्यटन प्रवर्द्धनमा पनि योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।