ओली र म सँगै जेल बसेका हौँः सभापति देउवा

11

कास्की । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग अविश्वास गर्नुपर्ने कुनै कारण नरहेको बताएका छन् । पोखरामा ७७ वटै जिल्लाका सभापति र प्रशिक्षण विभागका प्रमुखहरूलाई आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष ओलीको प्रशंसा गरे । ‘वास्तवमा भन्ने हो भने ओली र म सँगै जेलमा बसेको साथी हौँ । धेरै दुख कष्ट थियो, छुट्ने सम्भावना हुँदैनथ्यो,’ उनले भने, ‘झापा काण्डको कारण देखाएर जेलभित्रको पनि जेलमा राखियो । हामी मुख्य प्रतिस्पर्धी हौँ । तर पनि केपी ओलीबाट अविश्वास गर्नुपर्ने कुरा छैन ।’

पहिलेदेखि नै दुई वटा पार्टीहरू प्रजातन्त्र र लोकतन्त्रका लागि लडेको हुनाले विश्वासका साथ चल्नुपर्ने उनले सुनाए । सरकारमा कांग्रेस एमालेको गठबन्धन स्थायित्वका लागि भएको देउवाको दाबी छ । ‘दुई प्रमुख प्रतिस्पर्धी पार्टीहरूबिच गठबन्धनबाट सरकार बनाउने कुरा कसरी आयो भन्ने पनि आवाज उठेका छन् । अहिलेको बेला मात्रै होइन, धेरै वर्षसम्म एमाले र कांग्रेसबिच सहमति भयो भने राजनीतिक स्थिरता स्थापित हुन सक्दछ,’ उनले भने, ‘कतिबेला सरकार ढल्ने हो, कति दिन चल्ने हो भन्ने पनि थाहा हुँदैन । दुई वटा पार्टी मिलेर सरकार बनेको छ, यसको स्थायित्व स्पष्ट छ ।’ -ratopati