काठमाडौं । ६ महिनाको अवधिमा देखाउने कुनै राम्रा काम नभएपछि सरकारले अध्यादेश ल्याएको नेकपा ९एकीकृत समाजवादी०का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो बैठकमा शुक्रबार सम्बोधनका क्रममा वरिष्ठ उपाध्यक्ष पाण्डेले कांग्रेस–एमाले सरकार गठनको ६ महिना पुगिसक्दा पनि देखाउने राम्रो काम नभएपछि अध्यादेश ल्याइएको टिप्पणी गरेका हुन् ।
‘दुईवटा ठूला पार्टीले सम्झौता गरेर सरकार बनाएका छन् । यसबीचमा देखाउनलायक केही कामहरू भएन । ६ महिनाबीचमा केही काम राम्रोसँग देखाउन सकिएन,’ पाण्डेले भने, ‘अध्यादेशबाट हामीले धेरै कुराको ढोका खोल्यौँ भन्न पनि यस्तो गर्नु पर्यो ।’
‘अध्यादेश सरकारले ल्याउनै पाउँदैन भन्ने होइन, ल्याउन सक्छ । दुईवटा अधिवेशनबीचमा विशेष आवश्यकता पर्यो भने ल्याउनकै लागि यो संवैधानिक व्यवस्था गरिएको हो,’ पाण्डेले भने, ‘तर, सरकारले अब केही दिनभित्रै अधिवेशन सुरु हुने बुझेर पनि हतार हतारमा किन ल्याउनु पर्यो ? ’ उनले सरकारलाई अध्यादेश ल्याउन पाउने संवैधानिक व्यवस्था गरिएको स्मरण गर्दै अधिवेशन सुरु हुनै लाग्दा अध्यादेश ल्याउनुको कारणबारे पनि प्रश्न गरे ।