Friday, October 23, 2026
Home राजनीति सबै कम्युनिष्ट एकैठाउँ आउनुपर्छ : वामदेव

सबै कम्युनिष्ट एकैठाउँ आउनुपर्छ : वामदेव

44

काठमाडौं : पूर्वउपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले सबै कम्युनिष्टहरूलाई एकताबद्ध हुन आह्वान गरेका छन्। आइतबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसलाई सम्बोधन गर्दै कीर्तिपुरमा उनले समाजवादी मोर्चा बनाउनु राम्रो भए पनि एक-दुईवटा पार्टी मात्रै मिलेर समाजवादको यात्रा पूरा नहुने बताए।उनले नेपालको संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समृद्ध समाज, समृद्ध समाजवादको निर्माण कम्युनिष्ट मोर्चाहरू मिलेर मात्रै सम्भव रहेको बताए। उनले लोकतान्त्रिक मूल्य, मान्यताको समाजवाद, समृद्ध समाजवादको लागि सबै नेपाली कम्युनिष्टहरू एउटा मोर्चामा आउन जरुरी रहेको जिकिर गरे। उनले समाजवादी मोर्चामा दुई-तीनवटा पार्टी मात्रै नभई नेकपा एमाले, मोहन वैद्य, लगायतका अन्य छरिएर रहेका कम्युनिष्ट पार्टीहरू एक हुनुपर्ने बताए।

‘सबै कम्युनिष्टहरू एकतामा आऔँ। मोर्चाको उद्देश्य नेपाली जनताको समृद्धिलाई बनाऔँ। नेपालको संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समृद्ध समाज, समृद्ध समाजवाद, कृषि, उद्योग धन्दाको क्षेत्रबाट कहाँबाट शुरु गर्न सकिन्छ, सामाजिक रुपबाट, सामाजिक सहमतिको उत्पादनका साधनमाथि जति सकिन्छ त्यति क्षेत्रबाट ठोस कार्यक्रमका साथ हामी सबै लागौँ’, उनले भने, ‘त्यो नेपालका कम्युनिष्टहरूले मात्रै स्थापना गर्न सक्छन्। त्यस्तो समाजवाद निर्माण गर्न सक्छन्। हामीले पनि त्यो संविधान बन्दा अनेकौँ समस्या झेलेर हामीले राखेको लोकतान्त्रिक मूल्य, मान्यताको समाजवाद, समृद्ध समाजवाद हामीले राखेर, कम्युनिष्टहरूको समाजवाद प्राप्तिको निम्ति एउटा मोर्चामा आबद्ध हुनुपर्छ। जसको लागि प्रचण्ड, कमरेड माधव नेपाल र अरु अरु मिलेर सुरु गर्नुभएको छ, राम्रो काम गर्नुभएको छ तर दुई तीन वटा पार्टी मिलेर मोर्चा बनाउने काम नगर्नुस्। सबै मिल्नुपर्छ, सबैलाई ल्याउन सक्नुपर्छ।‘