तरूल, घिउ, चाकु खानुको फाइदा

28

काठमाडौं । माघे संक्रान्तिमा पर्वमा तरूल, घिउ, चाकु, खिचडी खाएर मनाउँने गरीन्छ। यी यस्ता खाध्यबस्तु खाँदा जति मिठो हुन्छ स्वास्थ्यका हिसाबले पनि उतिकै फाइदाजनक हुने पोषणविद् बताउछन् । प्रा.डा. उमा कोइरालाले माघे संक्रान्तिमा खाईने यस्ता खानेकुरामा शरीरलाई आवश्यक रहेको पौष्टिक तत्वहरू जस्तै कार्बोहाइड्रेट, चिल्लो, भिटामिन, खनिज तत्व प्रदान गर्ने बताउनुहुन्छ । साथै यो पूष माघको चिसोबाट बचाउन शरीरलाइ न्यानोपन प्रदान गर्ने डा। कोइराला बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,“माघे संक्रान्तिमा खाइने खानेकुरामा क्यालोरिको मात्र बढीहुने भएकोले शरीरमा न्यानोपना प्रदान गर्छ ।”

यी खानेकुरा चाडबाडमा मात्र नभई अन्य समयमा पनि खान डा।कोइरालाको सुझाव छ । उहाँका अनुसार यस्ता खानेकुराबाट प्रशस्त मात्रमा क्यालोरी, मिनिरल, क्याल्सियम, फाइबर, भिटामिन प्राप्त गर्न सकिने भएकाले दीर्घरोगीहरुलाई पनि रोगको प्रवृति हेरेर खाना उहाँको सुझाव छ ।

कुन खानेकुराबाट के पाइन्छ ?

माघे संक्रान्तिमा घिउ–चाकु,तरुल,खिचडी, तिलको लड्ड महत्वपूर्ण खाद्य पदार्थ हुन ।संक्रान्तिका दिन प्रसादका रुपमा खाइने तरुल लगायत जाडो मौसममा तरुल निकै लाभदायक मानिन्छ ।

तरुल रेसादार खाद्य पदार्थ हो। यसबाट प्रशस्त मात्रमा फाइवर, प्रोटिन, मिनरलका साथै विभिन्न प्रकारका भिटामिन प्राप्त गर्न सकिने डा। कोइराला बताउनुहुन्छ । कतिपय मानिसले तरुललाई नियमित तरकारीको रुपमा पनि प्रयोग गर्न सकिन्छ । प्रसस्थमात्र फाइवर हुने भएकाले नियमित खानाले कब्जियतको समस्याबाट बच्न सकिन्छ ।

जाडो मौसममा हाम्रो शरीरलाई क्यालोरीको आवश्यकता पर्छ। घिउबाट प्रशस्त मात्रामा क्यालोरी प्राप्त गर्न सकिने उहाँ बताउनुहुन्छ। डा।कोइरालाका अनुसार शुद्ध घिउले शरीरलाई आवश्यक पर्ने चिल्लो प्रवाह गरी ऊर्जा प्राप्त गर्न मद्दत गर्छ । चाकुबाट अत्यधिक मात्रामा ग्लुकोज, क्यालोरी, कार्बोहाइड्रेड र आइरन प्राप्त गर्न सकिन्छ। घिउ–चाकुले शरीरलाई न्यानो प्रदान गर्नुका साथै चिसोबाट लाग्ने रोगबाट बच्न मद्दत गर्छ।

संक्रान्तिमा तिलको लड्डु पनि खाने चलन छ । तिलले शरीरलाई शक्ति प्रदान गर्छ जुन जाडो मौसममा अति स्वस्थकर मानिन्छ।डा।कोइरालाका अनुसार तिलको लड्डुमा फाइबर पाइने भएकोले पाचन प्रक्रियालाई पनि राम्रो गर्छ । तिलको लड्डुमा मल्टिभिटामिन हुने गर्छ। यसबाट आइरन र प्रोटिन पाउनुका साथै शरीरको तापक्रम वृद्धि गर्न मद्धत गर्छ।

मासको दाल, चामल, घिउ मिसाएर बनाइने खिचडी बच्चादेखि वृद्धवृद्धासम्मलाई उपयोगी खाना हो । खिचडी शरीरले सजिलै पचाउन सक्ने भएकाले दैनिक रुपमा पनि बच्चा र वृद्धवृद्धाहरुलाई खुवाउन सकिन्छ। खिचडीबाट प्रशस्त मात्रमा प्रोटिन जस्तै मिनिरल, क्यालोरी, कार्बोहाइड्रेड र आइरन प्राप्त गर्न सकिन्छ । -गोरखापत्रबाट