गण्डकी प्रदेश होमस्टेको राजधानी: नेतृत्व विकास तालिम सम्पन्न

108

काठमाडौं । गण्डकी प्रदेशका होमस्टे सञ्चालकहरुको नेतृत्व विकास तालिम सम्पन्न भएको छ । तनहुँ जिल्लाको भानु नगरपालिका स्थित ग्रीन हिमालय फार्म स्टे,चितिखोलामा दुई दिने होमस्टे सञ्चालकहरुको नेतृत्व विकास तालिम सम्पन्न भएको प्रमुख प्रशिक्षक एवं होमस्टे महासंघ नेपालका काेषाध्यक्ष सुरज बास्तोलाले जानकारी दिनुभयो । उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशले आयोजना गरेको उक्त तालिममा मनाङ, लमजुङ, गोर्खा, तनहुँ र नवलपुर गरि ५ जिल्लाका २८ जनाको सहभागीता रहेको बास्तोलाले बताउनुभयो ।

तालिम समापन समारोहमा प्रमुख आतिथ्यता गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नुभएको थियो । कार्यक्रममा सभापतित्व उद्योग तथा पर्यटन मन्त्री माननीय मित्रलाल बस्यालले गर्नुभएको थियो । प्रदेश सभ सदस्य माननीय दोर्ण कुमार, निति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्ण चन्द्र देवकोटा, आर्थिक मामिला मन्त्रालयका सचीव राजेन्द्र देव पाण्डे, उद्योग तथा पर्यटन मन्त्रालयका सचीव कुमान सिं गुरुङ, होमस्टे महासंघ, गण्डकी प्रदेशका अध्यक्ष धनिराम गुरौ, उपाध्यक्ष मोहनी लाल खनाललगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन पर्यटन महाशाखा प्रमुख हिमा पोखरेलले गर्नुभएको थियो ।
गण्डकी प्रदेश होमस्टेको राजधानी

नेपालको ग्रामिण पर्यटन प्रवर्द्धनको लागि सामुदायिक होमस्टे कार्यक्रमलाई एक दिगो ग्रामीण पर्यटन विकास कार्यक्रमको रुपमा लिन सकिन्छ । नेपालमा वि.स. २०६७ सालबाट संस्थागत रुपमा सुरु भएको यस होमस्टे कार्यक्रम मार्फत समुदाय स्तरमा पर्यटकीय सम्भावना बोकेका ठाँउहरुमा होमस्टे पर्यटन को विकास एवं विस्तार गर्दा स्थानीय जनताको चुलोचौकाबाट आर्थिक स्तर मात्र वृद्धी नभई क्षमता अभिवृद्धी, लैगिंक समानता, महिला संशत्तिकरण, चेतनाको विकास, सरसफाई, स्थानीय रैथाने उत्पादनमा वृद्धी, कला, संस्कृती, प्रकृति र वन्यजन्तुको संरक्षण, सांस्कृतिक आदन प्रदान, पूर्वाधारहरुको विकास एवं विस्तार जस्ता कार्यमा महत्त्वपूर्ण योगदान पुर्याउदै आएको छ । 

अहिलेको समयमा सामुदायिक होमस्टे संचालन भएका गाउँघरतिर सरसफाइ, स्थानीय उत्पादन, क्षमता विकास, सामुहिक एकता र संरक्षणका लागि स्थानीय जनताहरु एक जुट भइरहेका छन् । घरमा परिवारहरुको साथ बसेर आफ्नो दैनिक कार्य गर्दै गर्दा आयआर्जन भैरहेको छ भने पर्यटकहरुको लागि परिवारको त्यो दैनिक दिनचर्या सिकाई तथा अनुभव हासिल गर्ने उत्कृष्ट थलो बनी रहेको छ । हाल नेपालका १२०० भन्दा बढी गाउँहरु सामुदायिक होमस्टे मार्फत अगि बढिरहेको छ्न्, जस्ले नेपालको ग्रामिण पर्यटन प्रवर्द्धन मार्फत स्थानीय समुदायलाई दिगो जिविकोपार्जन तर्फ अगि लम्काईरहेको पाईन्छ । 


होमस्टेको राजधानिको रुपमा रहेको गण्डकी प्रदेशका ११ जिल्लामा हाल ३३२ वटा सामुदायिक होमस्टेहरु विधिवत रुपमा संचालनमा छन भने निजि तथा अनौपचारिक रुपमा झन्डै ३०० होमस्टे रहेको जानकारी उक्त कार्यक्रममा संयोजक समेत रहनुभएको उद्योग तथा पर्यटन मन्त्रालयका शाखा अधिकृत श्री जगनिवास भण्डारीले बताए ।