बीबीसी नेपाली न्यूज । विगत दुई वर्षमा मात्रै सहकारी संस्थाहरूको बचत अपचलनमा संलग्न भएको आरोप लागेका १,२०० जना फरार रहेको पाइएको छ। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीले सहकारी ठगीमा संलग्न भएको आरोपमा दुई वर्षमा मात्रै ३४६ जनालाई पक्राउ गरिएको जानकारी दिए।
नेपालमा सहकारी संस्थाहरूमा ठगीबारे अनुसन्धान सुरु हुनुअघि नै भागेर विभिन्न देशमा पुगेका केही सहकारी सञ्चालकहरूलाई विदेशबाट समेत नेपाल ल्याइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विगत दुई वर्षमा सहकारी ठगीसँग सम्बन्धित १८४ वटा मुद्दा विभिन्न अदालतमा दर्ता भएका छन्।
विगत दुई वर्षमा सहकारी संस्थाका बचतकर्ताहरूले आफ्नो ७० अर्ब रुपैयाँबराबरको रकम फिर्ता नपाएको उजुरी प्रहरीमा गरेका छन्।
त्यस्ता पीडितहरूले भने बचत फिर्ताका लागि आफूहरूले सङ्घर्ष गरिरहेको तर आफ्नो बचत फिर्ता नभएको गुनासो गर्दै आएका छन्।
उता सहकारी संस्थाहरूमा सर्वसाधारणको बचत हिनामिनाबारे अनुसन्धान गर्न गठित संसदीय समितिले केही दिनभित्रै आफ्नो काम सुरु गर्न तयारी गरिरहेको छ। समितिका संयोजक सूर्य थापाले केही दिनभित्र समितिको बैठक राख्ने र अनुसन्धान प्रक्रियाबारे छलफल हुने बताए।
फरार हुनेको सङ्ख्या बढ्दो: प्रहरी
सहकारी संस्थाहरूमा हिनामिनाको आरोप लागेर विगत दुई वर्षदेखि प्रहरीको खोजी सूचीमा रहेका मानिसहरूको सङ्ख्या १,२०७ जना पुगेको नेपाल प्रहरीका प्रवक्ताले बताएका छन्।
प्रहरीको तथ्याङ्क अनुसार गत साउन देखि वैशाखसम्म ६९५ जना र गत आर्थिक वर्ष ५१२ जना फरार भएका छन्।
गत वर्ष १९३ जनालाई पक्राउ गरेको प्रहरीले यो आर्थिक वर्षको वैशाखसम्म १५३ जनालाई पक्राउ गरिएको जनाएको छ।
तर प्रहरीको तथ्याङ्कअनुसार यस अवधिमा फरार मानिसहरूमध्ये २० प्रतिशत मात्रै पक्राउ परेका छन्।
“पक्राउको तुलनामा फरार हुनेहरूको सङ्ख्या ठूलै छ,” प्रहरी प्रवक्ता कार्की भन्छन्।
“सबै जिल्ला ९प्रहरी कार्यालय०ले आआफ्नो जिल्लामा रहेका फरारहरूको खोजी गर्नका लागि एउटा टीम नै परिचालन गरेको हुन्छ। तर आफ्नो जिल्लाभन्दा बाहिर र मुलुकभन्दा पनि बाहिर फरार हुने अवस्था छ।” फरार व्यक्तिहरूलाई देशैभरि र देशबाहिरको पनि प्रहरी सञ्जालको सहयोगमा खोजी र पक्राउ गरिने प्रहरी प्रवक्ता बताउँछन्।
साथै प्रहरीले त्यस्ता व्यक्तिहरूले प्रयोग गर्ने मोबाइल र सीसीटीभी फुटेजको सहयोगमा पनि खोजी गर्ने गरेको अधिकारीहरू बताउँछन्।
केही समयदेखिको आर्थिक मन्दीका कारण सहकारी संस्थाहरूमा मात्रै नभएर ब्याङ्किङ कसुरका घटना र फरार व्यक्तिहरूको सङ्ख्या बढ्दै गएको प्रहरीको भनाइ छ।
“आर्थिक असहजताको कारण सहकारी मात्रै नभई ब्याङ्किङ कसुर र ठगीलगायतका घटामा फरारहरूको सङ्ख्या पनि बढेको छ। मुद्दा सङ्ख्या बढेसँगै फरार मानिसहरूको सङ्ख्या पनि बढ्ने हो,” कार्की भन्छन्।
छ जनाविरुद्ध रेड कर्नर नोटिस
सहकारी ठगीको साङ्केतिक तस्बिरतस्बिर स्रोत,द्यद्यऋरच्क्क्
प्रहरीले सहकारी ठगीसँग सम्बन्धित मुद्दामा मात्रै छ जनाविरुद्ध रेडकर्नर नोटिस जारी गरेको छ।
नेपालले प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरपोलमार्फत् १९६ देशमा खोजी गर्नका लागि रेड कर्नर सूचीमा राखेका ६५ जनामध्ये सहकारीको ठगीमा संलग्न छ जना छन्। इन्टरपोलले आफ्नो विश्वभरिको संयन्त्रमार्फत् रेड नोटिसमा रहेका मानिसहरूको खोजीमा समन्वय गर्छ।
“रेड नोटिस जारी भइसकेपछि सबै सदस्य राष्ट्रहरूले शङ्कास्पद व्यक्तिको निगरानी गरिरहेका हुन्छन् र गतिविधि भएमा पक्राउ गर्ने अवस्था हुन्छ,” कार्की भन्छन्। पक्राउ भएपछि पनि अदालती र कूटनीतिक प्रक्रिया पूरा गरेर नेपाल ल्याउन लामो समय लाग्ने अधिकारीहरू बताउँछन्।
नेपालमा अपराध गरेर अर्को देशमा लुकेका कुनै व्यक्तिले उक्त देशको नागरिकता वा आवासीय अनुमति प्राप्त गरेको अवस्थामा भने ल्याउन चुनौती हुने बताइन्छ।
“दक्षिण एशिया र दक्षिण पूर्वी एशियासहित कैयौँ मुलुकबाट हामीले सहकारी ठगीमा संलग्न भएको उजुरी परेका मानिसहरूलाई नेपालमा ल्याएका छौँ,” कार्की भन्छन्।
जीबी राईलाई खोज्ने के पहल हुँदै छ ?
कैयौँ सहकारी संस्थाहरूबाट बचतकर्ताहरूको रकम अपचलन गरेको आरोप लागेका गीतेन्द्रबाबु राई ९जीबी राई०लाई यस्तो नोटिस जारी गर्दा समेत नेपाल ल्याउन नसकिएपछि कूटनीतिक पहल पनि भइरहेको प्रहरीले जनाएको छ। “उनलाई ल्याउन इन्टरपोलमार्फत् र कूटनीतिक दुवै प्रयास भएको छ। अहिलेसम्म प्राप्त सूचनाअनुसार जुन देशमा उनी बस्न खोजिरहेका छन्, त्यो देशबाट ल्याउन अलि गहन कानुनी प्रक्रिया पुर्याउनुपर्ने भएकोले अलि समय लागेको हो,” मलेशियामा रहेको ठानिएका राईबारे कार्कीले भने।
दुईवटा सहकारी संस्थाबाट बचतकर्ताहरूको अर्बौँ हिनामिना गरेको आरोप लागेका चन्द्रबहादुर लामा ९सीबी लामा० लाई प्रहरीले हालै पक्राउ गरेर सार्वजनिक गरेको थियो। प्रहरीका अनुसार जीबी राईसहित भूपेन्द्र राई र थानबहादुर बुढालाई कास्की प्रहरीमार्फत्, भरत महर्जनलाई केन्द्रीय अनुसन्धान ब्यूरोमार्फत् र छेला नेपाली तथा देवकुमार नेपालीलाई बागलुङ प्रहरीमार्फत् रेड कर्नर नोटिस जारी भएको हो।
नेपाली बागलुङको ढोरपाटन गाउँपालिकाका अध्यक्षसमेत हुन्।
-BBC NEPALI NEWS













