इतिहासमा कालो दिनः जेठ १९, दरबार हत्याकाण्डको २३ वर्ष

29

काठमाडौं । नेपालको इतिहासमा आज जेठ १९ गते कालो दिन हो । विसं २०५८ साल जेठ १९ गते राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्ड आधुनिक नेपाली इतिहासको सबैभन्दा चर्चित तथा विस्मयकारी र दुःखद घटना हो।

तत्कालिन राजा बीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमारी श्रुति, निराजन वीर विक्रम शाह, धीरेन्द्र शाह, शान्ति, श्रद्धा, जयन्ती, श्रद्धाका पति कुमार खड्गविक्रम शाहलगायतको गोली हानी हत्या गरिएको थियो । घटनामा मुख्य आरोपी बनाइएका युवराज दीपेन्द्रले अरुलाई मारेपछि आफैँमाथि गोली प्रहार गरेको प्रचार गरियो। अर्को दिन अस्पतालमा गम्भीर घाइते रहेका भनिएका युवराज दीपेन्द्रलाई राजा घोषणा गरियो र उनका काका अधिराजकुमार ज्ञानेन्द्रलाई नायबी अधिकार सुम्पियो। राजपरिवारका सबै सदस्यको सामूहिक अन्तिम संस्कार गरियो।

आज जेठ १९ गते नारायणहिटी राजदरबारको त्रिभुवन सदनमा राजा वीरेन्द्रसहित उनको वंश नै नाश हुने हत्याकाण्ड भएको २२ वर्ष पुरा भएर २३ वर्ष लागेको छ । उक्त घटनाको २३ वर्ष हुँदा पनि त्यस हत्याकाण्डलाई धेरैले रहस्यमय घटनाका रूपमा हेर्ने गरेका छन्।
उक्त हत्याकाण्डपश्चात् गठन भएको छानबिन समितिले तत्कालीन युवराज दीपेन्द्रले आफूले भनेकी युवतीसँग विवाह गर्न नपाएको झोक र नसा सेवन गरेको अवस्थामा राजपरिवारका सदस्यहरूलाई मारी आफूले पनि आत्महत्या गरेको भन्ने खालको विवरण सार्वजनिक गरेको थियो। तर, त्यसलाई धेरैले त्यस बेला पनि पत्याएका थिएनन् र अहिले पनि पत्याउन सकेका छैनन्।

दरबारमा भएको अकल्पनीय घटनापछि राजपरिवारका सदस्यको उपचारमा संलग्न वरिष्ठ चिकित्सक उपेन्द्र देवकोटाले सो घटना दीपेन्द्रले नै योजनाबद्ध रूपमा गराएको हुन सक्ने भए पनि उनी त्यो बेला नसामा नभएको अन्तर्वार्ता दिएका थिए। डा। देवकोटाका अनुसार दरबारको घटनाको ढाकछोप गर्नका लागि युवराज दीपेन्द्रले लागुपदार्थ खाएको भनिएको हुन सक्छ।

उक्त घटनाबारे नयाँ तथ्य भन्दै केही पुस्तकहरू निस्किएका छन्। तर तिनमा पनि कि त दीपेन्द्रले नै हत्याकाण्ड मच्चाएको भनिएको छ कि त दीपेन्द्रको मुकुन्डो लगाएका छद्मभेषीले हत्या गरेको भनिएको छ।

तर ती विवरणमा पनि विश्वसनीय आधार दिइएको छैन। दरबारका भूतपूर्व सैनिक सचिव विवेककुमार शाहको संस्मरण ुमैले देखेको दरबारु मा प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै दीपेन्द्रले नै गोली हानेर राजपरिवारका सदस्यहरूलाई मारेको र अन्त्यमा आफैँलाई गोली हानेको लेखिएको छ।

हालै सार्वजनिक भूतपूर्व प्रमुख शाही पार्श्ववर्ती सुन्दरप्रताप रानाको पुस्तक ुदरबारको दुस्खान्त, राजपरिवार र संहारस् मैले जसरी देखेँु मा पनि दीपेन्द्रले नै उक्त हत्यकाण्ड मच्चाएको ठम्याइ छ। तर रानाले उक्त घटनापश्चात् घाइते राजा वीरेन्द्रको उद्धार गर्ने क्रममा कसले गोली चलाएको हो भन्ने नदेखेको लेखेका छन्।

कतिपय इतिहासकार र राजनीतिशास्त्रीहरू दरबार हत्याकाण्डलाई नेपालको इतिहासमा गणतन्त्रको बलियो बीउ रोप्ने एउटा घटनाका रूपमा पनि चित्रण गर्ने गर्छन्। विसं २०६२/६३ को जनआन्दोलनमा पनि राजा ज्ञानेन्द्रलाई उक्त हत्याकाण्डको दोष लगाउँदै नारा लगाइएको थियो। त्यसले पनि धेरै नेपालीलाई गणतन्त्रतर्फ उन्मुख हुन उत्प्रेरित गरेको कतिपयको विश्लेषण हुने गरेको छ।