तपाईको मृगौलामा समस्या त छैन ?

356

फागुन २६,
काठमाडौं । विश्व मृर्गौला दिवस ‘स्वस्थ मिर्गौलाको लागि स्वस्थ जीवनशैली’ भन्ने नारासहित बिहीबार जनचेतनामूलक कार्यक्रम गरी मनाईंदै छ । मृर्गौलाको महत्व बुझाउनको लागि हरेक वर्ष मार्च ९ मा यो दिवस मनाउने गरिएको छ । दिवसका अवसरमा विभिन्न अस्पताल तथा संस्थाले निःशुल्क परीक्षण सहित विभिन्न कार्यक्रम गर्दैछन् । नेपालमा झण्डै ३० लाख मानिसमा कुनै न कुनै किसिमको मिर्गौला सम्बन्धी रोग लागेको अनुमान छ भने ३ हजार जनालाई हरेक वर्ष दुवै मृर्गौला फेल हुने गरेको पाइएको छ । मिर्गौला फेल हुने ९० प्रतिशत भन्दा धेरैको केही महिनामा नै ज्यान जाने गरेको पाइएको मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक पुकारचन्द्र श्रेष्ठले बताए । उनका अनुसार मोटोपना भएका मानिसको मृर्गौला फेल हुने सम्भवाना २ देखि ७ गुणा बढी हुन्छ । सन् २०२५ सम्ममा मोटोपनले संसारभर १८ प्रतिशत पुरुष र २१ प्रतिशत महिलालाई असर गर्ने अनुमान गरिएको छ । मधुमेह, उच्च रक्तचाप, पत्थरी, वंशाणुगत लगायत कारणले मृर्गौलामा समस्या देखिन सक्छ । पिसाबको रङमा परिवर्तन वा पिसाब पोल्नु, आँखाको डिल सुन्निनु, खानामा रुची घट्दै जानु, दुब्लाउँदै जानु, दुवैतर्फका कोखा दुख्नु, खुट्टा सुन्निनु, थकाइ लाग्नु र सास फेर्न गार्हो हुनु मिर्गौला रोगको लक्षण हो । वर्षमा एक पटकमात्रै भए पनि मृर्गौलाको परीक्षण गरे रोग लाग्नबाट बच्न सकिने डाक्टरले बताएका छन् ।