नेताहरूको दाबी : आजदेखि सहमतिमै सदन चल्छ

18

काठमाडौं : सांसदहरुले आज अपरान्ह ४ बजे बस्ने प्रतिनिधि सभा बैठक अगावै दलहरुका बीचमा सहमति जुट्ने दाबी गरेका छन्। बिहीवार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक दलहरुका बीचमा सहमति जुट्न नसक्दा बस्न सकेन। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय छानविन समिति बनाउने माग निरन्तर राख्दै आएको छ। यता सत्तारुढ दल छानविन समिति बनाउन तयार देखिएको छैन। यसैकारण प्रतिनिधि सभाको बिहानको बैठक बस्न सकेन। सूचना टाँस गरेर आजै दिउँसो ४ बजे बस्नेगरी प्रतिनिधि सभा बैठक स्थगित गरिएपछि सांसदहरुले सो बैठक अगावै सहमति जुटेर बैठक सहज रुपमा सञ्चालन हुने दाबी गरेका हुन्। सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले ४ बजेको प्रतिनिधि सभा बैठक अगाडी बढ्ने दाबी गरे। उनले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससँग समझदारी गर्नका लागि बैठक सरेको बताए। उनले ४ बजे बस्ने बैठकमा गृहमन्त्रीलाई बोल्न समय दिइनुपर्ने बताए।

उनले भने ‘४ बजेको बैठक अगाडी बढ्छ। त्यसहिसाबले समझदारी गर्नका लागि नै अहिले हामीले केही समय माग गरेका हौँ। नेपाल सरकारको तर्फबाट पनि पहल जारी छ। प्रमुख प्रतिपक्षले पनि यति महत्वपूर्ण समय सांसदको, देशको। विरोध र अवरोधको श्रृङ्खला लगातार जारी राखेर देशलाई, संसदलाई बन्दक बनाउनु हुँदैन। प्रमुख प्रतिपक्षले बुझ्नुपर्छ। गृहमन्त्रीलाई बोल्न समय दिनुपर्छ। ४ बजेको बैठक सहजताका साथ अगाडि बढ्छ।’नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले प्रधानमन्त्री संसदीय छानविन समिति गठनमा सकारात्मक देखिएको भए पनि सत्तारुढ अन्य दलका कारण प्रधानमन्त्रीले निर्णय गर्न नसकेको बताए। उनले संसदीय छानविन समिति गठनको सम्बन्धमा निर्क्यौल निकालेर संसद चलाउने बाटोमा जानुपर्ने आफूहरुको धारणा रहेको बताए। उनले सरकार संसदीय छानविन समिति गठन गर्न तयार भएर आएमा बैठक अगाडी बढ्ने बताए। सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै सांसद खतिवडाले गिरिबन्धु टि—स्टेटमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा अर्बौ रुपैयाँको नीतिगत भ्रष्टाचार भएको बताए। उनले सो प्रकरणको छानविन गर्नुपर्ने र काँग्रेसका कोही दोषि भएमा कारबाही भोग्न तयार रहेको बताए।

उनले भने ‘हिजो प्रधानमन्त्रीसँग हाम्रा केही साथीहरुले गएर कुरा गर्नुभयो। अहिले बिहान पनि केही कुरा भएको छ। प्रधानमन्त्रीजी व्यक्तिगत रुपमा हामीलाई भेट्दा सकारात्मक देखिनुहुन्छ। फेरि सत्तारुढ गठबन्धनसँग कुरा गर्न थालेपछि कता कता उहाँपनि रेडिकल हुनुहुन्छ। कहिले हामीसँग ठिक। कहिले उता ठिक। यही बारेमा एउटा निक्र्यौल निकालेर संसद चलाउने बाटोमा जाउँ भन्ने हाम्रो धारणा हो। सभामुखलाई पनि त्यही भनेका छौँ। सधैँ सदन नकारात्मक रुपमा मात्रै नजाओस् भन्ने कुरा छ। यही पहलका लागि सभामुखले ४ बजेसम्मका लागि रोकौँ न भनेर ४ बजेसम्मलाई स्थगित गरिएको हो। सरकार संसदीय छानविन समिति गठन गर्न तयार भएर आयो भने सबै कुरा सहमति हुन्छ। अदालतले निर्णय गर्छ काँग्रेसलाई नै आरोप लगाउनु भनेको सही मानसिकताको उपजले त्यो कुरा बोलेको हो भन्ने लाग्छ? अदालतप्रति आक्रमण गर्ने। आफैँ प्रधानमन्त्री हुँदा अर्बौ नीतिगत भ्रष्टाचारको निर्णय गर्ने। त्यसलाई अदालतले झापड हानेर उल्ट्याइदियो। नैतिकताको कुरा गर्ने हो भने भ्रष्टाचारमा सबभन्दा बढी संलग्नता बालुवाटार त छावा मात्रै हो हात्ती त उतैतिर छ भन्ने हो। त्यसमा को–को छन् अझै छानविन गर्नेगरी आउनुपर्छ। कांग्रेस दोषी छ भने सजायको भागी हुन्छौँ।’
नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले सत्तारुढ दलको तर्फबाट प्रधानमन्त्रीले नेपाली काँग्रेससँग संसदको अवरोध हटाउने सम्बन्धमा अन्तिम पटक छलफल गर्न लागेको जानकारी दिए।