मौन अवधिमा किसान र सोनलको घरदैलो

22

बारा । बारामा मंसिर ४ गते हुने निर्वाचनको स्थिर समय (मौन अवधि)मा आचारसंहिता विपरीत उम्मेदवारहरूको घरदैलो भएको छ। बाराको क्षेत्र नम्बर ४ मा पर्ने परवानीपुर गाउँपालिका ३ लिपनीमालमा आचारसंहिता विपरीत घरदैलो कार्यक्रम भएको हो।

सता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) र प्रदेशसभा सदस्य (ख) का उम्मेदवार जितेन्द्र सोनलले शुक्रबार बिहान घरदैलो गरेका हुन्। करिब एक सयभन्दा बढी नेता कार्यकर्ताको सहभागितामा घरदैलो भएको स्थानीयवासीले बताएका छन्।

बिहीबार मध्यरात १२ बजेबाट चुनाव प्रचारप्रसारमा रोक लगाइएको छ। तर, यसको उल्लङ्घन गर्दै किसान र सोनलले शुक्रबार बिहान घरदैलो कार्यक्रम गर्दै मत मागिरहेका छन्।

यसबारे खबर पाएको प्रहरीले आचारसंहिता विपरीतका कार्य रोक्न बताएको छ। घरदैलो कार्यक्रम भइरहेको जानकारी आएको बताएका बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले घरदैलो कार्यक्रम रोक्नलाई प्रहरी निरीक्षकको कमान्डमा प्रहरी परिचालन गरेको बताए।