ललितपुर मेयर्स कप : एपिएफ फाइनलमा

10

काठमाडौँ : ललितपुर मेयर्स कप क्रिकेट–२०८१ अन्तर्गत आज भएको खेलमा सशस्त्र प्रहरी बलको (एपिएफ) क्लब आयोजक ललितपुर मेयर्स–११ लाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको छ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा ललितपुरलाई ८ विकेटले पराजित गर्दै एफिएफ एक खेलअगावै प्रतियोगिताको फाइनलमा पुगेको हो। आजको खेलमा ललितपुरले दिएको ७२ रनको लक्ष्य एपिएफले ९ दशमलव ५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो। एपिएफका लागि कप्तान सीता रानामगरले सर्वाधिक ५० रनको योगदान दिइन्। उनले ३५ बलमा ८ चौकासहित ५० रन बनाएकी हुन्।

ममता चौधरीले २१ बलमा एक चौकासहित १६ रन बनाइन् भने इन्दु बर्मा र रोमा थापा १/१ रनमा अविजित रहे। ललितपुरका लागि कृतिका मरासिनीले २ विकेट लिइन्। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ७१ रन बनाएको थियो। कप्तान पूजा महतोले सर्वाधिक २४ रन बनाइन्। उनले ३९ बलमा एक चौकासहित २४ रन बनाइन्। ज्योत्स्निका मरासिनीले ३९ बलमा १ चौका नै प्रहार गर्दै २१ रन जोडिन्। एपिएफका लागि रेखा रावल र कप्तान सीता रानामगरले १/१ विकेट लिए। ५ टोली सहभागी उक्त प्रतियोगिता सिंगल राउण्ड रोबिनका आधारमा हुँदै छ। लिग चरणका शीर्ष २ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्ए पिएफले ३ खेलमा ६ अङ्क बटुलेको छ। सुदूरपश्चिमले २ खेलमा ४ अङ्क रहेको छ। यता ललितपुरको ३ खेलमा २ अङ्क रहेको छ भने २/२ खेल खेलेका कोशी प्रदेश र बागमती प्रदेश अङ्कविहीन छन्।