रुपन्देहीमा निगमको भण्डार गृह निर्माणको कार्य थालनी, उपनिर्देशक यादवलाई जिम्मेवारी

53

काठमाडौं । रुपन्देहीको भलबारीमा रहेको नेपाल आयल निगमको भण्डारण गृह अन्यत्र सार्ने प्रक्रिया सुरु भएको छ । हाल बस्ती नजिकै रहेको भण्डारण गृह अब भने रुपन्देहीको रोहिणी खोला किनारमा सार्ने कार्यको शुभारम्भ भएको हो ।
रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माणको प्रक्रिया अघि बढाएको परियोजनाका संयोजक निगमका उपनिर्देशक इ.प्रदिप कुमार यादबले जानकारी दिनुभएको छ ।

यादबका अनुसार तटबन्ध निर्माण र जमीन पुर्ने कार्यको थालनी गरिएको हो । रुपन्देहीको भलबारी डिपोको भण्डारण क्षमता कम भएको तथा बस्ती नजिक रहेकाले निगमले खरिद गरेको १३।५ बिघा जग्गामा नयाँ भण्डारण गृह निर्माण गर्न लागिएको निगमले जनाएको छ । सो भण्डारण लुम्बिनी प्रदेशको २० दिनको माग धान्नेछ। निगमले पेट्रोलियम पदार्थको भण्डारण क्षमता अभिवृद्धिका लागि देशका विभिन्न स्थानमा भण्डारण गृह निर्माण गर्दै आएको छ ।

सो स्थानमा डिजेल भण्डारणका लागि २१०० किलोलिटर तीन, पेट्रोल भण्डारणका लागि १६०० किलोलिटर दुई र मटितेल भण्डारणकालागि ७० किलोलिटरका तीन वटा ट्यांक निर्माण गरिनेछ । भण्डारण निर्माण भएसँगै हालको भलबारी डिपो यहाँ सर्नेछ । भण्डारण डिपोलाई बाढीबाट जोगाउन दुई मिटर अग्लो बांध निर्माण गरी जमीन पुरिने परियोजना संयोजक यादवले जानकारी दिनुभयो ।

आगामी असारसम्म तटबन्ध लगाउने र जमिन पुर्ने काम सम्पन्न गरिने जानकारी दिँदै उहाँले असोजभित्र परियोजनाको डिजाइन सम्पन्न गरिने उहाँले जानकारी दिनुभयो । परियोजनाको डिजाइन काठमाडौँ विश्वविद्यालयले गर्नेछ । आगामी मङ्सिरमा भण्डारण परियोजना निर्माणको शिलान्यास गर्ने र विसं २०८३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

ओमसतिया गाउँपालिकाका अध्यक्ष मञ्जितकुमार यादव र रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले संयुक्तरूपमा उक्त कार्यको शुभारम्भ गर्नुभयो । कार्यक्रममा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसादले परियोजना निर्माणमा स्थानीय सरकारले पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै। निगमले स्थानीयको चासो सम्बोधन गरिदिनुपर्नेमा जोड दिनुभयो ।
ओमसतिया गाउँपालिकाका अध्यक्ष मञ्जितकुमारले स्थानीय जनतालाई रोजगारी दिने तथा यस क्षेत्रको विकासमा ध्यान दिन आग्रह गर्नुभयो ।

काठमाडौं विश्वविद्यालयका प्राध्यापक विवेक बरालले विश्वविद्यालय र निगमबीच लामो समयदेखि सहकार्य रहँदै आएको उल्लेख गर्दै मुलुकको ऊर्जा सुरक्षाका लागि भण्डारण गृह निर्माण महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।
करिब रु तीन अर्ब लागतमा भण्डारण गृह निर्माण गर्न लागिएको निगमको भनाई छ ।