Wednesday, September 23, 2026
Home राजनीति संसदीय समितिमा पनि काँग्रेस सांसदले मागे गृहमन्त्रीको राजीनामा

संसदीय समितिमा पनि काँग्रेस सांसदले मागे गृहमन्त्रीको राजीनामा

45

काठमाडौँ : नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सहकारी प्रकरणलाई निष्पक्ष रूपमा छानबिन गर्न गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने बताएका छन्। बुधवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद बडूले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेको पनि नाम जोडिएको भन्दै निष्पक्ष छानबिनका लागि पद छोड्नु उपयुक्त हुने बताए। उनले छानबिनको निष्पक्षता र विश्वसनीयता सुनिश्चित गर्न गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताए। उनले बाँसबारी छाला, जुत्ता कारखानाको जग्गा प्रकरणमा काँग्रेस सांसद विनोद चौधरीलाई छानबिन गर्ने भनी सभामुखलाई प्रहरीले पत्र लेखेकोप्रति असन्तुष्टि व्यक्त गरे। उनले संविधानको कुन व्यवस्था अनुरूप सांसदको छानबिन गरिँदै छ भनी पत्र लेखेको हो स्पष्ट पार्न माग गरे। उनले सांसद चौधरीमाथि पूर्वाग्रही भएर अनुसन्धान गरिएको आशंका पैदा भएको बताए। बडूले भने, ‘कसैमाथि छानबिन हुँदै छ भनेर पूर्वजानकारी गराइदिएर चिट्ठी लेख्नुपर्ने कारण के रहेछ ? यो कसैलाई ह्यारेसमेन्ट गर्ने मात्रै उद्देश्य हो कि? अनुमान त जे पनि लगाउन सकिने भयो। सहकारी प्रकरणमा आरोपी कति समातिए? १ करोड रुपैयाँ रवि लामिछानेको नाममा जम्मा भएको भन्ने आयो। उहाँले छानबिन नसकिदाँसम्म म जिम्मेवारीबाट बाहिरिन्छु भनेर गर्दा हुन्थ्यो भन्ने हाम्रो अपेक्षा हो।’सांसद बडूले सांसद विनोद चौधरीलाई अनुसन्धान गरेर सताउन खोजिएको भनेर प्रश्न गरे।