Friday, October 30, 2026
Home समाचार बिजुक्छेँद्धारा ऐतिहासिक भाजु पुखू (पोखरी) उद्घाटन

बिजुक्छेँद्धारा ऐतिहासिक भाजु पुखू (पोखरी) उद्घाटन

60

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भाजु पुखू र मध्यभागमा अवस्थित जलेश्वर मन्दिरको उद्घाटन गर्नुभएको छ ।भक्तपुर नगरपालिकाद्वारा हाल पुनःनिर्माण सम्पन्न गरिएको वडा नं. १ दुधपाटीस्थित भाजु पुखू र मध्यभागमा अवस्थित जलेश्वर मन्दिरको एक भव्य कार्यक्रमबीच उद्घाटन गर्नुभएको हो । सोही अवसरमा अध्यक्ष बिजुक्छेँले भक्तपुर नपाबाट प्रकाशित ‘भाजु पुखू र जलेश्वर मन्दिर पुनःनिर्माण — २०८०’ पुस्तक पनि विमोचन गर्नुभयो ।

भाजु पुखू उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेँले भक्तपुरको भाजु पुखू मानव सभ्यताको एक महत्वपूर्ण उपलब्धी भएको बताउनुभयो ।लोपोन्मुख अवस्थामा रहेका राष्ट्रिय धरोहरहरुलाई पुनःजीवन दिने काममा पुरातत्व विभाग, प्रज्ञा प्रतिष्ठान र विश्वविद्यालहरु अग्रसर हुनुपर्ने बताउँदै उहाँले भक्तपुरको इतिहास, कला संस्कृति नयाँ पुस्तालाई पाठ्यक्रममार्फत अध्ययन गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

प्राचिन सांस्कृतिक र वास्तुकलाको संरक्षण र उत्खनन्मा बौद्धिक व्यक्तित्वहरुको सक्रियता आवश्यक भएको बताउँदै उहाँले भाजु पुखू पुनःनिर्माणमा सहभागी सम्पूर्ण डकर्मी, सिकर्मी र महिला कालिगढहरुमा धन्यवाद ज्ञापन गर्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका अन्य सम्पदा निर्माणमा जस्तै भाजु पुखू पुनःनिर्माणको क्रममा पुरातŒवविद्, संस्कृतिविद्, इतिहासविद्, वास्तुकलाविद्लगायत सरोकारवालाहरूको सल्लाह र सुझावअनुसार पुनःनिर्माण कार्यलाई अगाडि बढाएको बताउनुभयो ।

भाजुपुखूको मौलिकतामा आ“च पुग्ने कुरामा भक्तपुर नपाले अत्यन्त सचेतनापूर्वक काम गरेको बताउँदै उहाँले पोखरीमा जनताको अपनत्व कायम होस् भन्ने उद्देश्यले अन्य सम्पदाहरूमा जस्तै स्थानीय जनताबाट गठित उपभोक्ता समितिमार्फत पुनःनिर्माणको काम गर्ने व्यवस्था मिलाएको बताउनुभयो ।

भाजुपुखू र भक्तपुर क्याम्पस दुबै जनताका साझा सम्पत्ति भएको बताउँदै उहाँले पोखरीको दक्षिण भाग भक्तपुर क्याम्पसतर्फ बाटो खोल्न बाँकी नै रहेको उल्लेख गर्दै क्याम्पसका पदाधिकारीहरुसित त्यसबारे पटक पटक छलफल गरिसकेको र छलफलको क्रम अगाडि बढिरहेको बताउनुभयो ।

नेमकिपा बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाइँले लोप हुनै लागेको भाज्या पुखूलाई भक्तपुरको सुन्दर र मनमोहक अवस्थामा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने वडाबासी, कालिगढ, जनप्रतिनिधि, पुरातत्व विभाग, प्राविधिक सम्पूर्णमा उच्च सम्मान व्यक्त गर्नुभयो । भाजु पुखू पुनःनिर्माणको सपनाले साकार रुप लिसँगै सम्पदाप्रेमीहरुमा उत्साह पुगेको बताउँदै उहाँले मौलिकता र सम्पदा संरक्षित सहरको रुपमा देश–विदेशमा परिचित भक्तपुरको सांस्कृतिक, सम्पदा संरक्षण अभियान र भाजु पुखूको पुनःनिर्माण कार्य भक्तपुरको लागि कोसेढुंगा सावित भएको बताउनुभयो ।