दुई दिनमा सवारी दुर्घटनाबाट मात्रै २० जनाको मृत्यु, कारण किन खोज्दैन सरकार

38
यो पुरानो तस्विर हो ।

काठमाडौं । कपिलवस्तु, पाल्पा र दाङमा भएको सवारी दुर्घटनामा परेर यो समाचार तयार पर्दासम्म २० जना नागरिकको मृत्यु भइसकेको छ । गएराती महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातको सुपप्र ०२–००१ ख ००९८ नम्बरको बस सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको हो । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै भएको बस दुर्घटनामा मृत्यु भएका १० जनाको सनाखत भएको छ ।

मृतकमध्ये ७ पुरुष र ३ महिला हुन् । मृतकहरुमा रौतहट औराही-३ का ४६ वर्षीय नारायण बहादुर भण्डारी, कालिजंग गण गोरुसिंगेमा कार्यरत अर्जुनकुमार योगी, भारत उत्तर प्रदेशका सकिल मुसलमान, भीमदत्त नगरपालिका-१ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त–४ कन्चनपुरका २४ वर्षीय उमेश भण्डारी रहेका छन् । यस्तै, भीमदत्त नगरपालिका-१६ कन्चनपुरकी सन्जु थापा, भीमदत्तकै बाह्रकुण्डकी खगेश्वरी खाती, कन्चनपुर पुनर्वाससकी विमलादेवी भट्ट, भीमदत्त-२ का सुदीप भट्ट र भीमदत्त-९ का बिसनदत्त भट्ट रहेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी नवरत्न पौडेलले बताए । दुर्घटनामा ३० जना घाइते भएका छन् । त्यसमध्ये ९ जनाको बुटवलमा र अरुको कपिलवस्तुकै अस्पतालमा उपचार भइरहेकोछ ।

पाल्पाको मस्याम चिदीमा जीप दुर्घटना
फागुन १ गते पाल्पाको मस्याम चिदीमा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । तानसेन नगरपालिकाको डुम्रेबाट तिनाउँ गाउँपालिकाको चिस्दिका लागि छुटेको लु १ ज २३७१ नम्बरको जीप कच्ची सडकबाट खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । जीपमा २० जना सवार रहेको बताइएको छ । प्रहरीका अनुसार शव संकलन तथा उद्दार कार्य जारी छ । घाइतेहरुलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएको छ । मृतक र घाइतेको पहिचान खुलिसकेको छैन ।

दाङमा भएको सवारी दुर्घटना:

हिजो दाङमा भएको सवारी दुर्घटनामा परेर एकै घरका दुई दिदी बहिनीको मृत्यु भएको छ। बुधवार दिउँसो राप्ती गाउँपालिका–८ पिपरीमा स्कारपियो गाडीले साइकललाई ठक्कर दिँदा साइकल चालक प्यूठान झिमरुक गाउँपालिका–१ घर भई हाल राप्ती गाउँपालिका–८ निवासी ३५ बर्षिया राधा बस्नेतको घटना स्थलमा र साइकलको पछाडि बसेकी उनकी बहिनी १६ बर्षिया विपना केसीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका–८ पिपरी नजिक पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश ३–०१्०२२ च १३६९ नम्बरको स्कारपियो गाडीले सोही दिशा भएर गुडिरहेको साइकललाई ठक्कर दिएको थियो। घाइते केसीको सिसहनियाँ स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरेर थप उपचारको लागि बुटवल लगिएको थियो । केसीको उपचारको क्रममा बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव लमही अस्पतालको शव गृहमा राखिएको छ । एक्कारपियो गाडी तिब्र गतीमा भएका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । गाडी प्रहरी नियन्त्रणमा भएपनि चालक भने फरार रहेको प्रहरीले जनाएको छ।

सवारी दुर्घटनामा दैनिक दर्जनौं नागरिकको मृत्यु हुदाँ पनि सरकार र सम्बन्धीत निकाय कारण जोखेर समाधान गर्न लागिपरेको दैखिदैंन ।