अदालतले ज्युँदा आमाछोरीको मृत्युको प्रमाण पत्र जारी गरेपछि…

16

ज्युँदैमा अदालतको आदेशमा ‘मृत्युको प्रमाणपत्र’ बनेपछि नरमाया घर्तीले बर्दिया जिल्ला अदालतमा ‘किर्ते जालसाजी’ मुद्दा दर्ता गराएकी छन्। बर्दिया जिल्ला अदालतले नेपालगञ्जमा बसोबास गर्दै आएकी ४३ वर्षीया नरमाया र उनकी २० वर्षीया छोरी शषा गुरुङको यही पुस १८ गते ‘मृत्युको न्यायिक घोषणापत्र’ बनाइदिएको थियो। अदालतले २०६२ चैत १५ गते घरबाट निस्केपछि हालसम्म फर्केर नआएकोले मृत्युको न्यायिक घोषणा गरिपाऊँ भन्ने निवेदनमा ‘मृत्युको न्यायिक घोषणा’ गर्ने निर्णय गरेको थियो। नरमायाकी सौता मीनमायाले यही पुस १ गते निवेदन दिएकी थिइन्। निवेदनमा मधुवन नगरपालिका वडा नम्बर ७ वडा कार्यालयको सिफारिस पनि रहेको अदालतको पत्रमा उल्लेख गरिएको छ। न्यायाधीश टेकराज जोशीले गरेको निर्णयमा ‘खोजतलास गर्दा पनि पत्ता लाग्न नसकेको र अब फर्किआउने सम्भवना नरहेको’ भनेर पुस ४ गते भएको भएको सर्जिमिन मुचुल्का समेतका आधारमा ‘मुलुकी देवानी संहिता २०७४ को दफा ४० को उपदफा ४ बमोजिम मृत्युको न्यायिक घोषणा’ गरिएको उल्लेख छ। बर्दिया जिल्ला अदालतका स्रेस्तेदार कपिल पौडेलले अदालतको निर्णय विरुद्ध नरमायाले मुद्दा दायर गरेको जानकारी दिएका छन्।

न्यायाधीशको निर्णयमा ‘…च्यामश्यो भन्ने मीनमायाको सौतेनी बहिनी र सौतेनी छोरीको मृत्युको न्यायिक घोषणा गरिएको छ’ लेखिएको छ। निवेदनमा पनि ‘मृत्युको न्यायिक घोषणा गरिपाऊँ’ भनिएको छ। प्रमाणपत्रको व्यहोरामा ‘…बेपत्ता भएको÷मृत्यु भएको…’ लेखिएको छ। व्यक्तिको विवरणमा ‘बेपत्ता वा मृत्युको न्यायिक घोषणा गरिएको व्यक्तिको’ भनेर विवरण लेखिएको छ। प्रमाणपत्रले बेपत्ता भएको कि मृत्यु भएको भन्ने किटान गरेको छैन।जिउँदैमा कसरी भयो त ‘मृत्युको न्यायिक प्रमाणपत्र दिने’ निर्णय? यसको कथा निकै लामो छ। रुकुमकी नरमाया घर्तीले नेपाली सैनिक सुब्बा गुरुङलाई पहिलो पटक आफ्नै ठाउँमा भेटेकी थिइन्। सेनाको ब्यारेक नजिकै उनको घर थियो। उनी जम्मा १५ वर्षकी थिइन्।सुब्बाले नरमायालाई फकाए, उनको मन जिते। आपसमा माया बस्यो। राजीखुसीले २०५८ सालमा उनीहरूको बिहे भयो। बिहेको तीन महिनापछि नरमायाले घरमा आफूभन्दा १० वर्ष जेठी सौता छन् भन्ने थाहा पाइन्। जे हुनु–नहुनु भइसकेको थियो। नरमायाले आफ्नो भाग्य यस्तै रहेछ भनेर चित्त बझाइन्। बिहे भएको दुई वर्षपछि सुब्बा र नरमायाबाट २०६० वैशाखमा छोरी शषा जम्मिन्। त्यसको दुई वर्षपछि २०६२ सालमा हृदयघात भएर सुब्बा बिते। श्रीमानको मृत्युले सहाराविहीन बनेकी नरमाया दुई वर्ष उमेरकी छोरी लिएर बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ७ शुक्रबस्तीस्थित श्रीमानको घरमा पुगिन्।

च्यामश्यो नामले चिनिने सौता मीनमाया गुरूङ नरमायामाथि जाइलागिन्। नरमायाले शारिरिक र मानसिक यातना पाइन्। त्यहाँ बस्न नसकेपछि २०६४ सालमा उनी छोरी च्यापेर घरबाट निस्किन्। उनी नेपालगञ्ज पुगेर भाडाको कोठामा बस्न थालिन्। दुई ज्यान पाल्न रातदिन मिहिनेत गरिन्। जीवन चलाउन श्रम गर्दै ब्युटी पार्लरको काम सिकिन्।कामले काम सिकाउँदै गयो, ब्युटी पार्लरसम्बन्धी व्यवसाय सुरू गरिन्। निकै वर्ष मेहनत गरेपछि उनले नेपालगञ्जको राँझामा एउटा घडेरी किनिन्। आफ्नै कमाइले दुई वर्षअघि एक तले घर बनाइन्। नरमायाको जीवनबाट आर्थिक समस्या र मानसिक पीडा बिस्तारै ओरालो लाग्दै थियो। छोरी शषा २० वर्षकी भइन्। उनी महेन्द्रबहुमुखी क्याम्पस, नेपालगञ्जमै बिबिएस पढ्दै छिन्। बाँके र बर्दिया सीमाना जोडिएका जिल्ला हुन्। चाडपर्व र विशेष अवसरमा नरमाया छोरी लिएर बर्दियास्थित श्रीमानका आफन्तहरूका घरमा आउजाउ गर्थिन्।

‘सौताले देखिन सक्ने भएकाले आफ्नै घरमा त जान्नथेँ तर ससुराबुबा र कान्छा सुसुराबुबाकोमा जान्थेँ। हामी (आमाछोरी) वर्षमा एक–दुई पटक पुग्ने गरेका छौँ’ नरमायाले भनिन्, ‘उहाँहरू छोरीलाई माया गर्नुहुन्छ, छोरी पनि फुरुंग हुन्छे।’ नरमाया सौता मीनमायासँग झगडा गर्न चाहन्नथिइन्। यसकारण आफ्नो घर नगए पनि आमाछोरी आफन्तहरूकहाँ जाने गरेको गाउँका धेरैलाई थाहा थियो। सौतासँग सम्बन्ध राम्रो नभए पनि उनीकी छोरीसँग राम्रो थियो। नरमायाका अनुसार मीनमायाकी छोरी अनिशा यही पुस १७ गते नेपालगञ्जस्थित घरमा आएकी थिइन्। ‘दुई दिदीबहिनी अति नै मिल्छन्,’ नरमाया भन्छिन्, ‘उनीहरूको सम्बन्ध देखेर मलाई पनि खुसी लाग्छ।’नरमाया सुब्बासँग बिहे हुनु आफ्नो दोष होइन भन्नेमा प्रष्ट छिन्। भन्छिन्, ‘म त अञ्जान थिएँ। झुक्याएर कलिलै उमेरमा बिहे गर्नुभयो। यसमा मेरो केही दोष छैन।’मीनमायाका दुई छोरामध्ये एकजना सिंगापुर पुलिसमा र अर्का छोरा काठमाडौंमा रहेको नरमायाले बताइन्।

‘छोरी (अनिशा) त हामीकहाँ आइरहन्छिन्। बाहिर बस्ने छोराहरूसँग पनि राम्रो सम्बन्ध छ,’ नरमायाले भनिन् ‘अञ्जानमा मेरो बिहे भयो। मैले परिवारका कसैलाई कहिल्यै नराम्रो सोचिनँ। दिदी (मीनमाया) कै खुसीका लागि म घर घोडेर निस्केकी हुँ।’नरमायाका अनुसार श्रीमानका नाममा बर्दियामा एक बिघा जमिन र एउटा घर छ। लम्जुङमा पुख्र्यौली घरजग्गा छ। त्यही सम्पत्ति एकलौटी बनाउन मीनमायाले षड्यन्त्र गरेर मृत्युको प्रमाणपत्र बनाएको नरमायाको भनाइ छ। नरमाया र उनकी छोरी शषा २०६२ चैत १५ गतेदेखि घरबाट बेपत्ता भएको, खोजतलास गर्दा फेला नपरेको र फर्की आउने सम्भावना नभएको भनेर सर्जमिन मुचुल्का बनेको छ। वडाध्यक्ष राजेन्द्र हमाल नाताका मान्छे हुन्। नरमाया भन्छिन्, ‘वडाध्यक्ष नाताले मेरा देवर पर्नुहुन्छ। उहाँलाई हामी गाउँमा आउजाउ गर्ने गरेको थाहा थियो।’

अदालतले मीनमायाको निवेदन, वडा कार्यालयको सिफारिस र सर्जिमिन मुचुल्काका आधारमा निर्णय गरेको देखिएको छ।
नेपालगञ्जमा घर बनाएर बसोवास गरेको, व्यवसाय गरेको र श्रीमानको गाउँमा आफन्तहरू भेट्न जाने गरेको थाहा भएकै व्यक्तिहरूले जिउँदैमा आमाछोरीकै मृत्युको प्रमाणपत्र बनाएकोमा नरमाया दुःखी छन्। अझ त्योभन्दा बढी दुःख राज्यका निकायहरूले तथ्य पत्ता नलगाई निर्णय गरेकोमा लागेको छ। नरमायाले नेपाली सेनामा कार्यरत रहँदा मृत्यु भएका श्रीमानको पेन्सनबाट मासिक ८ हजार रुपैयाँ बुझ्दै आएकी छन्। बर्दियाको साबिकको ताराताल गाबिसले २०७१ साल मंसिर १७ गते छोरी शषा गुरूङलाई छात्तवृत्ति उपलब्ध गराउन नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयलाई सिफारिस गरेको थियो। यी तथ्यहरू खोज्दै नखोजी आमाछोरीको मृत्यु घोषणा गर्ने निर्णय भएको देखिएको छ।