हतियारसहित दुई पक्राउ

288

जुम्ला । जिल्ला प्रहरी जुम्लाले जिल्लाका विभिन्न स्थानमा पटकपटक गरी आठ थान अत्याधुनिक हातहतियार बरामद गरेको छ । चन्दननाथ बाबाको मन्दिरबाट दत्तात्रेय भगवानको त्रिमूर्तिसहित २१ मूर्ति चोरी भएलगत्तै तीव्र अपरेसन थालेको नेपाल प्रहरीले आठ थान अत्याधुनिक स्वचालित हतियारसहित दुई व्यक्तिलाई पक्राउ गरेको हो । बरामद गरिएका हतियार सोमबार निमित्त प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद न्यौपाने, प्रमुख अनुसन्धान अधिकृत जीवन खड्का, वकिल दिलबहादुर महत र जुम्लाका पत्रकार सञ्चारकर्मीको रोहवरमा सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा गज्र्याङ्कोट– ८ का वेदनराज थापा र उनका सहोदर दाइ कमलराज थापा रहेको प्रहरी नायव उपरीक्षक गुरुविष्णु काफ्लेले जानकारी दिए । एकसाता अघि वेदनराज थापालाई सुराकी आधारमा काठमाडौंबाट पक्राउ गरी जुम्ला ल्याइएको र आइतबार मात्र उम्कने क्रममा उनका सहोदर दाइ कमलराज थापालाई नेपालगन्जमै पक्राउ गरी त्यहीबाट अनुसन्धान थालिएको काफ्लेले बताए । पक्राउ परेका दुवैबाट जानकारी लिएर गज्र्याङ्कोट गाविस–८ स्थित खर्क, ओडार, खेतको कान्ला, कोप्चा र माटोमा लुकाइएको अवस्थामा हतियार बरामद भएको छ । बरामद गरिएका हातहतियार द्वन्द्वकालमा लुटिएका हुनसक्ने भन्दै यसमा संलग्न व्यक्ति विशुद्ध अपराधी मनोवृत्तिका रहेको जिप्रका जुम्लाले जनाएको छ । पक्राउ परेका थापा दाजुभाइ अनुसन्धानको क्रममा दोषी ठहरिए हातहतियार खरखजानासम्बन्धी मुद्दा चलाइने प्रहरीले बताएको छ ।