भक्तपुर सूर्यविनायक लगाएत देशभरका विभिन्न ठाउँमा ९ जनाको मृत्यु

88

काठमाडौं : पछिल्लो २४ घण्टायता देशभरका छुट्टाछुट्टै स्थानमा भएका विभिन्न दुर्घटनामा ९ जनाको मृत्यु भएको छ। नवलपरासी पूर्व, सिरहा, कञ्चनपुर, उदयपुर, कैलाली र भक्तपुरमा भएका दुर्घटनामा उनीहरूको मृत्यु भएको हो। नवलपरासी पूर्व, कावासोती नगरपालिका-८ खर्कट्टास्थित सडकमा बागमती प्रदेश ०१-०२९ च ०२४८ नम्बरको कार र बागमती प्रदेश ०३-०४ प १९५८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक हुप्सेकोट गाउँपालिका-२ कोलिया बस्ने ४१ वर्षीय धन बहादुर सार्कीको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। साथै मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।सिरहाको विष्णुपुर गाउँपालिका-४ थल्हास्थित सडकमा से१क १३४५ नम्बरको बसको ठक्करबाट सोही गाउँपालिका-४ थल्हा बस्ने राजकुमार साहको छोरा ३ वर्षीय आयाश साहको बुधबार दिउँसो मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ। कञ्चनपुर जिल्लाको, भीमदत्त नगरपालिका-१४ पलियास्थित सडकमा से१क ९९९ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने गजेन्द्र कुँवरको छोरा ३ वर्षीय कार्तिक कुँवरको बुधबार साँझ मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका-६ ऐठपुरस्थित सडकमा म१प ४८५२ नम्बरको मोटरसाइकल बिहीबार बिहान दुर्घटना हुँदा चालक भिमदत्त नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष ४८ वर्षीय महेन्द्र खड्काको मृत्यु भएको छ। दुर्घटना भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट समेत खटिएको प्रहरीले दुर्घटनाग्रस्त मोटरसाइकल र वडा अध्यक्ष खड्कालाई मृत अवस्थामा फेला पारेको हो।

उदयपुरको त्रियुगा नगरपालिका-८ राजाबासस्थित सडकमा प्र१-०५-००१ ज ००३५ नम्बरको हाइसको ठक्करबाट साइकलयात्री रौतामाई गाउँपालिका-७ मुर्कुची बस्ने ३८ वर्षीय तुलसी मङ्ग्रातीको बुधबार साँझ मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। हाइस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पर्सा जिल्लो बहुदरमाई नगरपालिका-६ गम्हरीयास्थित सडकमा बिन्दवासिनीबाट डकैलातर्फ जाँदै गरेको प्र२–०३-००१ प ९९८५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-४ बहुअरी बस्ने २३ वर्षीय अकाश प्रसाद रौनियार गुप्ताको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो।

कैलाली जिल्लो मोहन्याल गाउँपालिका-७ डङ्डङे खोलास्थित सडकमा भे१३प १०७४ नम्बरको मोटरसाइकल सडकबाट अन्दाजी ३ सय मिटर तल खसेर बुधबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकलमा सवार अछाम पञ्चदेवल बिनायक नगरपालिका-१ बस्ने ३८ वर्षीय खगेन्द्र प्रसाद ढकाल र बर्दिया नेउलापुर बस्ने ३४ वर्षीया महेश्वरी तिमिल्सेनाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। त्यस्तै, भक्तपुर, सूर्यविनायक नगरपालिका-९ पलाँसे फन्डभ्यालीस्थित पर्खालको चेपमा प्रदेश २-०२-०१९ प १७५८ नम्बरको मोटरसाइकलले च्यापिएर मृत्यु भएको अवस्थामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी २९ वर्षीया महिलाको शव बुधबार दिउँसो फेला परेको छ। उल्लिखित सबै दुर्घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।