शव नबुझी प्रधानमन्त्री भेट्न पुगे बालकुमारी घटना पीडित

34
तस्विरः प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनाका पीडित परिवारजनले भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको उक्त भेटमा प्रधानमन्त्री दाहालले घटनाको यथार्थ पत्ता लगाउन सरकारले छानबिनको प्रक्रिया अघि बढाइसकेको र दोषी देखिएकालाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे। भेटमा पीडित परिवारजनले घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका थिए। सो अवसरमा पीडित परिवारका साथै अछाम र दैलेख जिल्लाका सङ्घीय सांसद पनि सहभागी थिए।रधानमन्त्रीले उक्त घटनालाई सरकारले गम्भीर रुपमा लिएको र प्रारम्भिक चरणमा दोषी देखिएकालाई निलम्बन गरिसकिएको पीडित पक्षलाई जानकारी गराएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

उनले मृतकका परिवारलाई सरकारका तर्फबाट राहतको व्यवस्था गरिएको, घाइतेको उपचारको प्रबन्ध मिलाइएको बताएका थिए। प्रधानमन्त्री दाहालले घटनाका सम्बन्धमा दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना व्यक्त गरेका थिए।
“छानबिनबाट सत्यतथ्य जे आउँछ, जो दोषी देखिन्छन् तिनलाई कारबाही हुन्छ, आगामी दिनमा यस्ता घटना हुँदैनन्”, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने। आजै बसेको मन्त्रिपरिषद् बैठकले उक्त घटनामा निधन भएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। सरकारका तर्फबाट मृतकका परिवारलाई प्रतिपरिवार दश लाख राहत उपलब्ध गराउने बैठकले निर्णय गरेको छ।

यस्तै गृह मन्त्रालयले पनि सो घटनाको निष्पक्ष छानबिनका लागि एक उच्चस्तरीय समिति गठन भई कार्यारम्भ गरिसकेको जनाएको छ । गृह मन्त्रालयका अनुसार ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई गृह मन्त्रालयमा र जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालमया फिर्ता बोलाइएको हो। यस्तै त्यसक्षेत्रमा सुरक्षाका लागि ललितपुर परिसरबाट खटिएका प्रहरी नायव उपरीक्षक उमेशराज लम्साल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका निजी सुरक्षा अधिकृत (पीएसओ) बोधराज दनुवार र ईपीएस कोरिया शाखा प्रमुख (निर्देशक) गुरुदत्त सुवेदीलाई निलम्बन गरिएको छ।