देशमा भ्रष्टाचार हुन्न भन्नेमा म ढुक्क छु : सुवास नेम्वाङ

208

वैशाख १६,
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले देशमा भ्रष्टाचार हुन्न भन्नेमा आफू ढुक्क रहेको बताएका छन् । संसदको बर्खे अधिवेशनको पहिलो बैठकमा बोल्दै नेम्वाङले प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका सभापति दुवैले भ्रष्टाचारको विरुद्धमा बोलेकाले आफू ढुक्क रहेको बताएका हुन् ।

‘प्रधानमन्त्रीले पनि जीरो टोलरेन्स भन्नुभएको छ, प्रमुख प्रतिपक्षी दलका नेताले पनि त्यहीँ भन्नुभएको छ,’ नेम्वाङले भने, ‘अब देशमा भ्रष्टाचार नहुने कुरामा म ढुक्क छु ।’ नेम्वाङले यो व्यवस्था सफल नभए समग्र प्रक्रिया नै असफल हुने बताएका छन् । ‘यदि यो व्यवस्थाले परिणाम दिन सकेन भने प्रधानमन्त्री वा सभामुख मात्र फेल हुने होइन,’ उनले भने, ‘पूरै सिस्टम फेल हुन्छ । हामीले आग्रह पूर्वाग्रहबाट माथि उठेर प्राप्त उपलब्धिहरूलाई आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने हुन्छ ।’

 

सरकारले प्रतिपक्षीलाई पनि सदासर्वदा साथ लिएर हिँड्ने बताउँदै नेम्वाङले भने, ‘प्रि–बजेट छलफल हुन्छ, बजेट प्रस्तुत हुन्छ र पारित हुन्छ । यो संसदले पारदर्शिता स्थापना गर्नका लागि महत्त्वपूर्ण र प्रभावकारी भूमिका खेल्छ । हाम्रो तर्फबाट भूमिका खेल्छौं र प्रतिपक्षीले पनि त्यस्तै भूमिका खेल्ने छ ।’