Saturday, October 3, 2026
Home अर्थ खेती गर्ने शैली बदलेपछि अलैँचीबाट मनग्य आम्दानी

खेती गर्ने शैली बदलेपछि अलैँचीबाट मनग्य आम्दानी

44

इलाम : आधुनिक खेतीप्रणालीको प्रयोगसँगै अलैँचीमा सुधार गरेपछि इलामका किसानले आम्दानी बढाउन थालेका छन्। प्रायः किसानले परम्परागत प्रविधिबाट खेती गरिरहेकाले पनि अलैँची मासिएको थियो। मात्रा मिलाएर मलजल र गोडमेल नहुँदा फल दिन सकेको थिएन। सूर्योदय नगरपालिका–१ बाङ्गिनका बिरेन शेरेङले करिब १०० रोपनी क्षेत्रफलमा अलैँची लगाएका छन्। ‘वर्षमा २७ देखि ३१ मन सम्म उत्पादन हुन्छ, सबै खर्च कटाएर वार्षिक आठ–दश लाख बचत हुन्छ’, उनले भने। अलैँची मासिएर निराश भएको समयमा तालिम लिएर खेती गर्दा पुनः अलैँचीबाट आम्दानी लिन थालेको उनले बताए। जिल्लामा यो वर्ष एक हजार ३२०.५ मेट्रिक टन अलैँची उत्पादन भएको छ। यो अघिल्लो वर्षको तुलनामा ७.९६ प्रतिशतले धेरै हो। एक हजार ७५३ हेक्टर जमिनमा सो बराबरको अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देवाले जानकारी दिए। उनका अनुसार गत आवमा एक हजार २१५.२६ मेट्रिक टनमात्र अलैँची उत्पादन भएको थियो। ‘पोहोर एक हजार ७५५ हेक्टर जमिनमा अलैँचीखेती गरिएको थियोँ, उनले भने, ‘अलैँचीको बगान घटे पनि यस वर्ष उत्पादन र उत्पादकत्व वृद्धि भएको छ। ‘गत वर्ष प्रतिहेक्टर ०.६९ उत्पादकत्व रहेकामा चालु आवमा वृद्धि भएर प्रतिहेक्टर ०.७५ पुगेको उनले बताए।

दशकअघि इलामका किसानको मुख्य आम्दानीको स्रोत नै अलैँची थियो। अलैँचीकै आम्दानीले घर खर्च चलाउन मात्र होइन जग्गा–जमिन जोड्नसमेत सहयोग पुगेको थियो। तर अचानक अलैँचीमा रोग देखिएपछि जिल्लाका अधिकांश किसानको रोजीरोटी हरायो। धेरैको आम्दानी ठप्प भयो। विस्तारै अलैँची मासियो तर यसको भाउ भने एकाएक आकाशिएर प्रतिमन एक लाखसम्म पनि पुग्यो। आवश्यक तालिम र विज्ञको सल्लाह लिएर यहाँका किसानले अलैँचीलाई सुधार गरेर उत्पादन पुरानै अवस्थामा पुर्‍याउने प्रयास थालेका छन्। ‘पाखामा गाडेर मात्र नहुँदोरहेछ, स्याहार गर्न र मलजल गर्न थालेपछि अलैँची सुधार भएको छ’, किसान शेरेङले भने, ‘रोप्ने तरिका र गोड्ने ढाँचा नै परिवर्तन गरेपछि अलैँचीको उत्पादनमा धेरै फरक पाइयो।’

उनले सिँचाइको समस्या हुने हो भने अझ उत्पादन बढाउन सक्ने बताए। अलैँची विकास केन्द्रका ततकालीन प्रमुख पदम अधिकारीसँग चार वर्षअघि लिएको तालिमले व्यावसायिक खेती गर्न सहयोग पुर्याएको उनले बताए। ‘मेरोमा उत्पादन भएको अलैँची बाग्लुङ, पोखरा, स्याङजापट्टि पनि आपूर्ति भएको छ’, उनले भने, ‘मैलै सधैँ बिरुवा उत्पादन गरेर अलैँची विकास केन्द्रलाई दिने गरेको थिएँ, यस वर्ष बिरुवा राख्न फुर्सद भएन, आउँदो साल व्यापक गर्नुछ।’प्रत्येक एक–एक महिनामा अलैँची गोड्ने काम गर्दा फूल नमर्ने र बोट सेपिलो नहुनाले अलैँची सप्रिएको किसानको अनुभव छ। अर्का किसान मित्रभक्त अधिकारीका अनुसार निश्चित मात्रामा सिँचाइ, फाँड्ने र गोड्नेसँगै, गोठेमलको प्रयोग गर्न थालेपछि अलैँची सुध्रिएको हो। किसानले अलैँचीका लागि संघसंस्था र विज्ञबाट रोप्ने शैली सिकेकाले रोग हट्दै गएको हो।