उपभोक्ताको हित संरक्षणका लागि नगरपालिका दृढ छ: नगरप्रमुख खत्री

41

भक्तपुर । चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले उपभोक्ताको हित संरक्षणका लागि नगरपालिका दृढ रहेको दावी गरेका छन् । संविधान र कानुनले नै उपभोक्ताको अधिकार सुनिश्चित गरेकाले त्यसको कार्यान्वयनमा चाँगुनारायण नगरपालिका प्रतिवद्ध रहेको उनले प्रष्ट पारेका हुन् ।चाँगुनारायण नगरपालिकासँगको सहकार्यमा आइतवार राष्ट्रिय सञ्चार केन्द्रद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा मेयर खत्रीले उपभोक्ताको हित बिपरित हुने कार्य भ्रष्टाचार भएको बताए । तीनै तहका सरकारले उपभोक्ताको अधिकारका लागि काम गर्नुपर्नेमा जोड दिंदै उनले एउटा सरकारले अर्को सरकारलाई दोष दिएर उपभोक्ताको अधिकार हनन हुन दिनु नहुने बताए । जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बजार अनुगमन समिति रहेको र त्यसलाई आफ्नो नगरपालिकाले सदैव साथ् दिएको उनको दावी छ । त्यसैगरी नगरपालिका आफैले पनि बजार अनुगमन गरिरहेको बताउदै मेयर खत्रीले अनुगमन संगै कैफियत गर्नेलाई कारवाहीको दायरामा ल्याइएको जानकारी गराएका छन् । अन्तरक्रिया कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जिल्लामा उपभोक्ता अधिकार कार्यान्वयन गर्न स्थानीय सरकार, उद्योग बाणिज्य संघ, अधिकारकर्मी र संचार जगतको ठुलो सहयोग रहेको भन्दै सबैको सहयोग बाट नै बजार अनुशासन कायम गर्न सकिने बिश्वास व्यक्त गरेका छन् । उपभोक्ता र व्यवसायी दुवै पक्षलाई सचेत पार्दै उपभोक्ता अधिकारको कार्यान्वयन पक्षलाई थप बलियो बनाउदै जानुपर्ने उनको भनाइ छ ।

त्यस्तैगरी चाँगुनारायणका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले आफूहरुले सेवा प्रवाहमा असर नपर्ने गरी बजार अनुगमनका लागि जनशक्ति परिचालन गर्ने गरेको जानकारी गराए । कार्यालय समय भन्दा अघि र पछि तथा बिदाको दिन पनि आफूहरु अनुगमनमा खटिने गरेको उनले बताएका छन् । उपभोक्ता बाट गुनासो आएमा अथवा बिश्वस्त सूचना प्राप्त भएमा तत्काल अनुगमन र कारवाहीका लागि संयन्त्र निर्माण गरिएको उनले जिकिर गरेका छन्। कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले स्थानीय सरकारले उपभोक्ता अधिकार संरक्षण गर्न चासो दिनु पर्ने बताए । बजार अनुगमन मात्रै नभए गुणस्तरमा समेत राज्य र स्थानीय सरकारले ध्यान दिनु पर्ने बताए । आयोजक संस्था राष्ट्रिय सञ्चार केन्द्र नेपालका अध्यक्ष पेशल आचार्यको अध्यक्षतामा सम्पन्न गरिएको कार्यक्रमको संचालन सचिव हेमराज ढकालले गरेका थिए ।