पाठेघरको मुखको क्यान्सरका कारण र लक्षणहरु के-के हुन्?

77

विश्व स्वास्थ्य संगठनले तीन वर्षअघि पाठेघरको मुखको क्यान्सर उन्मूलन गर्ने विश्वव्यापी अभियान चलाएको थियो। १७ नोभेम्बर २०२० मा सुरु भएको उक्त अभियान आज तीन वर्ष पूरा हुँदै छ। १९४ देशहरुले पहिलो पटक क्यान्सर उन्मूलन गर्ने संकल्प गरेका थिए। विश्व स्वास्थ्य संगठनले पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याको रुपमा उन्मूलन गर्न विश्वव्यापी रणनीति सरु गरेको थियो। सोही अवसरमा १७ नोभेम्बरलाई पाठेघरको मुखको क्यान्सर उन्मूलन गर्ने दिनका रुपमा मनाउन थलिएको हो। उक्त अवसरमा क्यान्सर रोग विशेषज्ञ डा रिता महासेठसँग गरिएको कुराकानी:

पाठेघरको मुखको क्यान्सरको रोकथामका लागी के गर्नुपर्छ?महिलाहरुमा सबैभन्दा धेरै हुने क्यान्सर पाठेघरको मुखको क्यान्सर हो। हामीले क्यान्सरको उपचार भन्दा पनि कसरी क्यान्सर हुन नदिने या क्यान्सरबाट कसरी बच्ने भन्नेबारे सोच्नु पर्छ। महिलाहरुलाई धेरै देखिने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर दुबैबाट बच्ने उपाय छ। जसलाई स्क्रिनीङ टेस्ट भनिन्छ। स्क्रिनीङले रोग लाग्नभन्दा अगाडि नै आफूलाई त्यो रोग लाग्ने वाला छ भनेर थाहा पाउन सकिन्छ। स्क्रिनीङका तीन वटा तरिका छन्, भीआईएलाई टेस्ट, प्याप स्मेयर र एचपिबी डिएनए परीक्षण। एचपिबी डिएनए परीक्षण एक पटक गरेपछि पाँच वर्ष सम्मलाई गर्नु पर्दैन।
विशेषत पाठेघरको मुखको क्यान्सरमा समय भन्दा अघि पत्ता लगाउनुकोसँगै रोग नै नलाग्न दिन पनि सक्छौं। जसको लागि भ्याक्सिन छ। भ्याक्सिन भनेको रोकथाम हो। ९ वर्ष उमेरदेखि लिएर १४ वर्षको उमेरसम्ममा भ्याक्सिन लगाउँदा एकदमै राम्रो हुन्छ। त्यसकारण विद्यालयमा विद्यार्थीहरुलाई यो भ्याक्सिन लगाउँदा निकै प्रभावकारी हुन्छ। भ्याक्सिन छात्रालाई मात्रै होइन छात्रलाई पनि लगाउन मिल्छ। ह्युमन प्यापीलोमा भाइरसको विरुद्दमा यो भ्याक्सिन लगाइन्छ।

भ्याक्सिन लगाउने उपयुक्त उमेर किन ९ देखि १४?
त्यो उमेरमा बालबालिकाहरु यौनजन्य क्रियाकलापमा सक्रिय भएका हुदैनन्। उक्त भाइरस आउने भनेको पुरुषबाट हो। त्यसकारण एकपटक यौनसम्पर्क भइसकेपछि भाइरस सर्ने जोखिम उच्च हुन्छ। सबैमा भाइरस सर्छ भन्ने त हुदैन। त्यसकारण ९ देखि १४ वर्ष भ्याक्सिन लगाउने उपयुक्त उमेर हो। १४ वर्ष पछि पनि बच्चाहरु यौनजन्य क्रियाकलापमा सक्रिय नभएको भए भ्याक्सिन लगाउन मिल्छ। अहिले २६ र ४६ वर्ष उमेर सम्म महिलाहरुले लगाउन मिल्ने भ्याक्सिनहरु पनि आएको छ। तर सानो उमेरमा लगाएको भ्याक्सिन प्रभावकारी हुन्छ।

यो क्यान्सरका कारणहरु के–के हुन्?
९० प्रतिशत भन्दा धेरै पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापिलोमा भाइरसको कारणले गर्दा हुन्छ। तर यो संगै सानो उमेरदेखि असुरक्षित यौनजन्य क्रियाकलापमा सक्रिय हुनु, धेरै बच्चा जन्माउनु, धेरै जनासँग यौनसम्पर्क गर्नु, सानो उमेरमा बच्चा जन्माउनु र सरसफाईको कमीले हुन सक्छ।

यसका लक्षणहरु के-के हुन्?
पाठेघरको मुखको क्यान्सर हुँदा योनीबाट गन्हाउने पानी आउने, रगत मिसिएको पानी आउने, महिनावारी सुकिसकेको महिलाहरुलाई समेत रगत देखिने, यौनसम्पर्क गरेपछि रगत देखिने जस्ता लक्षणहरु देखिन्छन्।

पाठेघरको मुखको क्यान्सर कुन स्टेजसम्म निको हुन्छ?
पाठेघरको मुखको क्यान्सर निको हुने सम्भावना धेरै हुन्छ। यो क्यान्सरमा तेस्रो स्टेजको अन्तिमतिर भएका बिरामीहरु समेत निको हुन सक्छन्। क्यान्सर भएपछि मरिन्छ भन्ने भ्रमले यसको उपचार नै नगराउनु गलत हो। पाठेघरको मुखको क्यान्सर पहिलो स्टेज र दोस्रो स्टेजको ‘ए’ स्टेजसम्म छ भने अप्रेसन गर्नुपर्छ। अप्रेसन भनेको पाठेघर निकालेर फ्याल्नु हो। पाठेघर फ्यालेपछि पनि अन्यखाले खतरा छ भने थप उपचार गर्नुपर्छ। दोस्रो स्टेजको ‘बि’ देखि लिएर तेस्रो स्टेजमा पुगेपछि अप्रेसन गरिँदैन। किमोथेरापी र रेडियोथेरापी संगसंगै दिएर उपचार गरिन्छ। चौथों स्टेज भन्ने बित्तिकै रोग फैलिसक्यो भन्ने बुझ्नु पर्छ। त्यस्तो अवस्थामा बिरामीलाई के गर्दा सहज हुन्छ त्यसरी नै उपचार गरिन्छ।

गर्भावस्थामा पाठेघरको क्यान्सर पहिचान भएमा के हुन्छ?
त्यस्तो अवस्थामा बिरामीको स्टेज कुन हो पत्ता लगाइन्छ। हरेक परिवारको लागि सन्तान पनि जरुरी हुन्छ, त्यसकारण कुन सन्तान हो त्यो बुझिन्छ। पहिलो सन्तान हो र सुरुवाती चरणमा छ भने कुरेर बच्चा जन्मिन दिएर अनि क्यान्सरको उपचार गर्छौं।